राजनीति

‘अध्यक्ष हटाउने कुरा सडकछाप हो, मलाई कहाँबाट हटाउने ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिङ्गो कार्यकर्तापङ्क्ति अध्यक्ष हटाउन तयार नरहेको दाबी गरेका छन्।

झापाको बिर्तामोडमा ‘मिसन पार्टी जागरण अभियान’ को शुभारम्भ गर्दै अध्यक्ष ओलीले नेतृत्व परिवर्तनको चर्चा चलाउनेहरूलाई लक्षित गर्दै आफूलाई कहाँबाट र कसले हटाउने भनी प्रश्न गरे।

अध्यक्ष ओलीले भने, ‘सुन्छु म, अध्यक्ष हटाउनुपर्छ। कठै बरा ! यस्तो बेलामा केही नलागेर अध्यक्ष हटाउने ? घर गएर हटाउने ? कहाँबाट हटाउने, कसले भनेर हटाउने ? कार्यकर्तापङ्क्ति त अध्यक्ष हटाउन तयार छैन, अनि कसरी हटाउने ?’

अध्यक्ष हटाउने विषय परिस्थितिको माग नभई केही स्वार्थी र महत्त्वाकांक्षीहरूको उपज मात्र भएको उनको जिकिर थियो। ‘पुनर्गठनको चर्चा चलिरहेको छ, पुनर्गठन भनेको के हो ?’ ओलीले भने, ‘अध्यक्ष हटाउने भन्ने एउटा कुरा छ नि सडकछाप कुरा, यो विषयमा त म धेरै छलफल पनि गर्न चाहन्नँ।’

नहुने कुराका पछाडि नलाग्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै उनले अहिले पार्टीको पुनर्गठन नभई पुनर्जागरण हुने बताए।

विगतमा कम्युनिस्ट आन्दोलन तीन पटक पुनर्गठन भइसकेको स्मरण गराउँदै अध्यक्ष ओलीले अहिलेको परिस्थितिमा आन्तरिक विवादमा अल्झिनुको सट्टा सबै एकताबद्ध भएर प्रतिक्रियावादी शक्तिहरूविरुद्ध लड्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित: ३१ श्रावण २०८३ १७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App