राजनीति

रास्वपाको ‘करार पत्र’ सम्झाउँदै अध्यक्ष राईले भने : १२ लाखलाई जागिर दिने कुरा थ्यो चुपचाप भन्दै गर्दा

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सरकारले ल्याएको नयाँ बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन्। बजेटले देशमा रोजगारी सिर्जना गर्ने विषयमा ठोस योजना नल्याएको भन्दै उनले सरकारको आलोचना गरेका हुन्।

सामाजिक सञ्जालमार्फत एकपछि अर्को पोस्ट गर्दै अध्यक्ष राईले बजेटले जागिर हुनेहरूको मात्र ध्यान दिएको तर बेरोजगार युवाहरूलाई उपेक्षा गरेको आरोप लगाए। उनले लेखेका छन्, ‘जागिर हुनेको त तलब बढ्यो। नहुनेको चाहिँ के बढ्यो? जागिर माग्न आउनु है युवा हो। १२ लाखलाई जागिर दिने कुरा थ्यो चुपचाप भन्दै गर्दा।’

उनले युवाहरूलाई न्यूनतम तलबसहितको नयाँ रोजगारी नदिई सरकारी कर्मचारीको मात्र तलब बढाउने कदमको विरोध गर्ने चेतावनी समेत दिएका छन्। स्वदेशमै व्यापक आर्थिक क्रान्ति र रोजगारीको माग गर्दै अब आन्दोलनमा उत्रिन उनले युवाहरूलाई आह्वान गरेका छन्।

विशेष गरी निर्वाचनका बेला आफ्नो 'करार पत्र' मार्फत आगामी पाँच वर्षभित्र सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि र उद्योगका क्षेत्रमा १२ लाख नयाँ मर्यादित रोजगारी सिर्जना गर्ने घोषणा गरेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै साम्पाङले यो प्रश्न उठाएका हुन्।

यसअघि शुक्रबार संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गर्ने घोषणा गरेका थिए। जसअनुसार हाल खाइपाइ आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भई ग्रेडसहित न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँमाथि कायम हुनेछ।

उनले विगत चार वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएको, बजारमा मूल्यवृद्धि १७.३ प्रतिशतसम्म पुगेको र कर्मचारीहरूको मर्यादित जीवनयापनका लागि पारिश्रमिक पुनर्संरचना गर्न आवश्यक देखिएकाले तलब वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले बजेट भाषणमा उल्लेख गरेका छन्।

प्रकाशित: १६ जेष्ठ २०८३ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App