नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधानका उपलब्धिमाथि सरकारको नेतृत्व गर्ने पक्षबाटै पटक–पटक प्रश्न उठाउने काम भइरहेको आरोप लगाएका छन्।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा आङ्देम्बेले संविधानको रक्षा गर्ने जिम्मेवारी पाएको कार्यकारी निकायबाटै संविधानका उपलब्धिमाथि घोचपेच हुनु गम्भीर विषय भएको बताए।
उनले संविधानले आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारू तथा अन्य सीमान्तकृत समुदायका पहिचान, अधिकार र प्रतिनिधित्व सुनिश्चित गरेको भन्दै यी उपलब्धि कसैको निगाहमा नभई लामो संघर्षबाट प्राप्त भएको बताए।
धर्मनिरपेक्षता, संघीयता, प्रदेश संरचना र समानुपातिक समावेशी प्रतिनिधित्व संविधानको मूल मर्म भएको उल्लेख गर्दै उनले यी उपलब्धिमाथि प्रश्न उठिरहेकाले आशंका पैदा भएको बताए।
आङ्देम्बेले संविधान संशोधनका क्रममा आदिवासी जनजातिसहित सीमान्तकृत समुदायसँग गरिएका प्रतिबद्धता सम्बोधन गर्नुपर्ने बताए। सरकारले गठन गरेको संविधान संशोधनसम्बन्धी समितिमा कांग्रेसको केही ‘रिजर्भेसन’ रहेको उल्लेख गर्दै उनले आदिवासी जनजाति समुदायलाई पनि सचेत र संगठित हुन आग्रह गरे।
अधिकार संरक्षणका लागि समुदाय आफैँ एकजुट हुनुपर्नेमा जोड दिँदै उनले संविधानबाट प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेसले संसद् र सडक दुवैबाट सरकारलाई खबरदारी गर्ने बताए।
प्रकाशित: २४ श्रावण २०८३ २१:०६ आइतबार



