राजनीति

गगनलाई पूर्णबहादुरको सुझाव : गम्भीर रूपमा आत्मसमीक्षा गर्दै एक पटक पुनः घोत्लिनुस्!

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद थाल्न सुझाव

नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गरेर पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग संवाद थाल्न सुझाव दिएका छन्।

सामाजिक सञ्जालमा लेख्दै खड्काले थापालाई उक्त सुझाव दिएका हुन्। उनले असोज ३ गतेदेखि सुरु हुने भनिएको १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी पार्टी एकताका लागि पहल गर्न थापालाई आग्रह गरे। उनले पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको भन्दै थापाले नै अग्रसरता लिएर देउवा र अन्य अग्रज नेतासँग वार्ता–संवाद अघि बढाउनुपर्ने भनाइ राखे।

'असोज ३ गतेदेखि प्रारम्भ गर्ने गरी घोषणा गरिएको १५औँ अधिवेशनको कार्यतालिका स्थगित गरी केही समयका लागि सार्नुस्,' खड्काले भनेका छन्, 'पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति आदरणीय शीर्षनेता शेरबहादुर देउवाजी अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा वार्ता–संवाद तत्काल प्रारम्भ गर्नुस्। मलाई आत्मविश्वास छ, पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ।'

उनले आफूहरूबीच वैशाख २१ गते भएको संवादपछि नै थापाले निर्णय गरेको भए जेठको पहिलो साताभित्र सिंगो कांग्रेसलाई एकताबद्ध बनाउन सकिने अवस्था बन्ने दाबी गर्दै गम्भीर आत्मसमीक्षा गर्न आग्रह समेत गरे।

उनले थापालाई कानुन, अदालतको निर्णय वा पार्टी विधानका कारण एकताको पहल गर्न समस्या नपर्ने भन्दै तत्काल निर्णायक कदम चाल्न आग्रह गरेका छन्। ‘तत्काल निर्णायक र साहसिक कदम चाल्नुस् अनि सम्पूर्ण एकताको सिंगो कांग्रेसको सभापति बन्नुस्,’ खड्काले भनेका छन्।

यस्तो छ सुझाव:

विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाजीलाई मेरो विशेष आग्रह अनि मेरो सुझाव !

तपाईं आज जुन निर्णयमा पुग्नुभयो, त्यो निर्णय वैशाख २१ गते हामीबीच भएको संवादपछि त्यही महिनामा नै गर्नु भएको भए, जेठको पहिलो साताभित्र सिंगो कांग्रेस तपाईंको नेतृत्वमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पूर्ण रूपमा एकताबद्ध भएर जुरुक्क उभिन्थ्यो। देशभरि मात्र होइन, संसारभरि रहनुभएका नेपाली कांग्रेसका नेता, सदस्य तथा शुभचिन्तक सबैमा कति ठूलो उत्साह, हौसला र पार्टी निर्माणका लागि कति ठूलो ऊर्जा सिर्जना हुन्थ्यो होला ?

गम्भीर रूपमा आत्मसमीक्षा गर्दै एकपटक पुनः घोत्लिनुस् !

समय बलवान् हुन्छ — पुनः कठोर संकल्प गर्नुस्।

१. असोज ३ गतेदेखि प्रारम्भ गर्ने गरी घोषणा गरिएको १५औँ अधिवेशनको कार्यतालिका स्थगित गरी केही समयका लागि सार्नुस् !

२. तपाईंले पार्टीमा आज गर्नुभएको निर्णयको बलियो जगमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति आदरणीय शीर्षनेता शेरबहादुर देउवाजी अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा वार्ता–संवाद तत्काल प्रारम्भ गर्नुस्। मलाई आत्मविश्वास छ, पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ !

अन्यथा दुईवटा अलग–अलग अधिवेशन रोकिएन भने कांग्रेस पार्टीको विभाजन कसैले रोक्न सक्ने छैन।

मेरो अन्तरमनले भन्छ, कांग्रेस पार्टीको विभाजनको केही महिनाभित्र नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत विशेषगरी संविधान निर्माणमा महत्वपूर्ण भूमिका रहेका दलहरू विभाजन हुनेछन्–गरिनेछन्।

परिणामतः विगतका घटनाक्रम, लक्षणहरू र विविध खालका चलखेलले संकेत गर्दै छन्—किन हो, किन हो ? मेरो अन्तरआत्माले भनिरहेको छ—देशमा जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्वको अकल्पनीय रणसंग्राम मच्चिनेछ–मच्चाइनेछ र हाम्रो प्यारो देश भाद्र २४ लाई पनि बिर्साउने गरी भीषण रणसंग्रामको दुष्चक्रमा परिणत हुने प्रबल–प्रबल सम्भावनातिर उन्मुख देखिन्छ। त्यसपछि हाम्रो देशको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता अनि स्वाभिमानको के होला ??????

त्यसैले गगनजी, म विश्वासका साथ भन्छु, कानुन, अदालतको निर्णय, पार्टी विधान कुनै कुराले तपाईंलाई कुनै समस्या र अप्ठ्यारो पर्ने छैन–पर्दैन। ढुक्क हुनुस् !

तपाईंले व्यहोरेका सल्लाह, सुझाव र विगतका घटनाक्रमलाई गहिरो शिक्षाका रूपमा निर्मम समीक्षा गर्दै,

तत्काल निर्णायक र साहसिक कदम चाल्नुस् अनि

सम्पूर्ण एकताको सिंगो कांग्रेसको सभापति बन्नुस् !

यो पुण्य कर्ममा म कुनै पनि महत्वाकांक्षाबाट मुक्त भएर जस्तोसुकै त्याग गर्न तयार छु,

इमानको सहयोग गर्न तयार छु।

(मेरा माथिका विश्लेषण र अन्तरआत्माको आवाजबाट प्रेरित भनाइहरू गलत साबित हुँदा सबैभन्दा खुसी म हुनेछु, यो पनि सम्बन्धित सबैमा स्पष्ट पार्दछु।)

प्रकाशित: २ आश्विन २०८३ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App