राजनीति

जुम्लामा समानुपातिक मतपरिणामः नेकपा पहिलो, एमाले चौथोमा खुम्चियो

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।  

सार्वजनिक मत परिणामले जिल्लाको राजनीतिक शक्ति सन्तुलनमा उल्लेखनीय फेरबदल भएको संकेत गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १० हजार २ सय २ मतसहित पहिलो दल बनेको छ।  

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ हजार ३ सय ६० मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ६ हजार ५ सय ५२ मतसहित तेस्रो स्थानमा उक्लिएको छ। यसअघिको निर्वाचनमा पहिलो स्थानमा रहेको नेकपा एमाले भने यस पटक ६ हजार ६० मतसहित चौथो स्थानमा सीमित भएको छ।  

नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५ हजार १ सय १८ मत प्राप्त गर्दै उल्लेखनीय उपस्थिति जनाएको छ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले १ हजार ४ सय २१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लाभरका १ सय १० मतदान केन्द्रमा मतदान सम्पन्न भएको थियो। कुल ७१ हजार ७ सय ३९ मतदातामध्ये ४० हजार ८ सय ७८ जनाले मतदान गरेका छन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचन (२०७९) मा भने समानुपातिकतर्फ नेकपा एमाले १० हजार ५ सय ४८ मतसहित पहिलो स्थानमा रहेको थियो। त्यसबेला नेपाली कांग्रेसले १० हजार ४ सय ७६, माओवादी केन्द्रले ८ हजार ९ सय ६० र राप्रपाले ५ हजार ७ सय ९६ मत प्राप्त गरेका थिए। त्यस्तै एकीकृत समाजवादीले २ हजार ६ सय ४८, नेमकिपाले २ हजार ७३ र रास्वपाले ८ सय ९९ मत पाएका थिए।

यस पटकको मत परिणामले जुम्लामा दलहरूको प्रभाव र मतदाताको झुकावमा उल्लेखनीय परिवर्तन आएको देखाएको छ। विशेष गरी अघिल्लो निर्वाचनमा अग्रस्थानमा रहेको एमाले चौथो स्थानमा झर्नु र नयाँ दलहरूका लागि मतदाताले स्थान बनाइदिनु स्थानीय राजनीतिक समीकरणमा पुनः संरचना भइरहेको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित: २५ फाल्गुन २०८२ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App