प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान कतारको दोहाबाट अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह दोहाबाट स्थानीय समयअनुसार बुधबार बिहान १ः४५ बजे न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। उनलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज अरनलगायतका अधिकारीहरूले स्वागत गर्नेछन्।
उनी मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानमार्फत दोहा पुगेका थिए। उनलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए।
न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा जाने कार्यक्रम छ। त्यहाँ उनलाई परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले भ्रमणका विषयमा ब्रिफिङ गर्नेछन्।
असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता हुनेछ। त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।
असोज ९ गते प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहाका लागि प्रस्थान गर्नेछन् र असोज १० गते स्वदेश फर्कने तालिका छ।
प्रकाशित: ७ आश्विन २०८३ ०८:२४ बुधबार