राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण: ओली-मोदी भेटवार्ता बोधगयामा

प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ अन्तिम साता भारत भ्रमण गर्ने निश्चित भएको छ। भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको निम्तो हस्तान्तरण गरेसँगै भ्रमण निश्चित भएको हो। प्रधानमन्त्री सचिवालयले आइतबार साँझ दिएको जानकारीअनुसार मिस्रीले भारत भ्रमणको निम्तो हस्तान्तरण गरेका हुन्।

ओली प्रधानमन्त्री भएको एक वर्ष दुई महिनापछि भारत भ्रमण हुन लागेको हो। भ्रमणका लागि प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्रीको सचिवालयल, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, अर्थ, वाणिज्य, उद्योग र भौतिक मन्त्रालयले आवश्यक तयारी गरेका छन्। ती मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल बनाउन आवश्यक गृहकार्य गरिरहेका छन्। यसपल्ट नेपालका प्रधानमन्त्रीसँगको भेटघाटलाई भारतले विशेष महत्त्व दिएको छ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका लागि बिहारको ‘बोधगया’लाई चयन गरिएको छ। बोधगयामै प्रधानमन्त्री ओली र समकक्षी मोदीबिच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम तय गरिएको विषयमा कूटनीतिक तहमा चर्चा-परिचर्चा भए पनि भ्रमण तालिका औपचारिक रूपमा सार्वजनिक नभएका कारण कूटनीतिज्ञहरूले कुनै टिप्पणी सार्वजनिक गरेका छैनन्।

मोदीले नेपालका प्रधानमन्त्रीसँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परालाई क्रमभंग गर्दै सिद्धार्थ गौतमले बुद्धत्व अर्थात् ज्ञान प्राप्त गरेको स्थल बोधगयालाई रोजेका छन्। प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीले गर्न लागेको भारतको औपचारिक भ्रमणका क्रममा दुई मुलुकका कार्यकारी प्रमुखबिच बोधगयामा भेटवार्ता हुनु संयोग मात्र नभई यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बिहारमा रहेको बोधगया बौद्ध धर्मका अनुयायीका लागि पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध छ।

विगतमा औपचारिक भ्रमणमा गएका नेपालका प्रधानमन्त्री र भारतीय समकक्षीबिच दिल्लीस्थित हैदराबाद हाउसमा औपचारिक भेटवार्ता र संयुक्त सम्बोधन हुने गरेको थियो।

औपचारिक वार्तापछि मात्र पाहुना प्रधानमन्त्रीलाई दिल्ली बाहिर घुमाउने अभ्यास थियो। यसअघि भारतको औपचारिक भ्रमणमा पुगेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिल्लीको औपचारिक कार्यक्रमपछि मध्यप्रदेशको उज्जैनस्थित महाकाल मन्दिरको भ्रमणमा लगिएको थियो। त्यसअगाडिका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीपछि बनारसमा काशी विश्वनाथ मन्दिरको दर्शनमा लगिएको थियो।

नेपालबाहेक राष्ट्रका कार्यकारी प्रमुखसँग पनि मोदीले दिल्लीबाहिर भेटवार्ता गरेका छन्। मोदीले सन् २०१४ मा भारत भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अहमदाबादमा भेटवार्ता गरेका थिए। त्यस्तै सन् २०१९ मा सी चिनफिङ र मोदीबिच भारतको दक्षिणी राज्य तमिलनाडुमा द्विपक्षीय भेटवार्ता भएको थियो। सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भारत भ्रमणमा आउँदा गुजरात ओर्लिएका थिए। दुई वर्षअगाडि भारत भ्रमणमा आएका फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई मोदीले जयपुरमा स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीलाई भ्रमणको निमन्त्रणा दिन विदेश सचिवलाई पठाउनु तथा द्विपक्षीय वार्ताका लागि दिल्लीबाहिरको स्थान रोज्नुलाई भारतले विशेष महत्त्व दिएको बुझ्नुपर्ने भारतीय स्रोतको भनाइ छ। दिल्लीबाहिर हुने भेटवार्तामा दुई नेताले एकअर्कासँग औपचारिकसँगै अनौपचारिक वार्ताका लागि पनि समय पाउनेछन्। राजनीतिकसँगै सांस्कृतिक सम्बन्धलाई समेत कसिलो बनाउन यो स्थान चयन गरिएको स्रोतको भनाइ छ।

भारतले ओली-मोदी भेटवार्ताका लागि दिल्ली बाहिरको कुनै धार्मिक स्थल बोधगयाको प्रस्ताव कूटनीतिक च्यानलबाट पठाएकोबाट पनि भारतले यस भेटवार्तालाई महत्त्व दिएको बुझ्न सकिन्छ। नेपालमा बुद्धको जन्म र ज्ञानस्थलबारे फरक अभिव्यक्तिहरू सार्वजनिक हुँदै आएको छ। त्यस्तै प्रधानमन्त्री ओलीले रामको जन्म नेपालकै ठोरीनजिक अयोध्यापुरीमा भएको अभिव्यक्ति केही वर्षअघि दिएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५६६औं बुद्ध पूर्णिमाको अवसरमा गौतम बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए। उनले त्यहाँ बौद्ध विद्वान र भिक्षुहरूसहितको ठुलो भेलालाई सम्बोधन गरेका थिए। बुद्ध पूर्णिमाको शुभ अवसरमा सिद्धार्थ गौतमको यस धर्तीमा जन्म, बुद्धत्व र महासमाधि प्राप्तिको स्मरण गरिन्छ।

प्रधानमन्त्री बनेपछि मोदीको त्यो पाँचौं नेपाल भ्रमण थियो, जसले दुवै देशका जनताबिचको साझा सभ्यता र सांस्कृतिक सम्बन्ध निकै मूल्यवान् र गहिरो रूपमा गाँस्ने एउटा कोसेढुंगाको काम पनि गरेको छ। त्यतिबेला मोदीले आफ्नो सम्बोधनमा भनेका थिए, ‘बुद्धको जन्मस्थलमा श्रद्धा अर्पण गर्न लुम्बिनीमा आउन पाउँदा आफूलाई सम्मानित भएको अनूभुति भएको छ।’

मोदीको त्यो भ्रमण र सम्बोधनपछि नेपालमा तीर्थयात्रा पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। भारतीय प्रधानमन्त्री मोदीले त्यो बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वभरका विद्वान्, पर्यटक र बौद्ध तीर्थयात्रीलाई आकर्षित गर्ने उद्देश्यका साथ इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेजको शिलान्यास गरेका थिए।

यो एक अर्ब रुपैयाँको परियोजना हो। यस इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेजमा प्रार्थना हल, ध्यान केन्द्र, पुस्तकालय, प्रदर्शनी हल र अन्य सुविधाहरू हुनेछन्। लुम्बिनी, कपिलवस्तु, बोधगया, राजगिर, कौसम्बी, श्रावस्ती, सारनाथ, वैशाली र कुशीनगर गौतम बुद्धको जीवनयात्रासँग सम्बन्धित केही प्रमुख स्थान हुन्।

ती स्थान पर्यटक र तीर्थयात्रीहरूको प्रमुख गन्तव्य हुन् र अहिले तिनै सथान बौद्ध सर्किटका अभिन्न अंग बनेका छन्। महत्त्वपूर्ण कुरा के छ भने भारतले लुम्बिनी (नेपाल) बाट सुरु भएर कुसीनगर (भारत) मा समापन भएको बुद्धको पाइला पत्ता लगाउन अन्तर्राष्ट्रिय बौद्ध पर्यटक सर्किट निर्माण गर्न नेपालसँग सहकार्य गरेको थियो।

तीर्थयात्रीहरू र अन्य आगन्तुकहरूका लागि बौद्ध धर्मका आध्यात्मिक पक्षहरूको सारको आनन्द लिन यो क्षेत्रको पर्यटकीय र सांस्कृतिक केन्द्रका रूपमा केन्द्रित विकासको एक थलो पनि हुन सक्छ। विश्वको ९७ प्रतिशत बौद्ध जनसंख्याको बसोबास एसिया महादेशमा छ। भुटान, कम्बोडिया, जापान, म्यानमार, नेपाल, श्रीलंका, थाइल्यान्ड आदि धेरै देशले बुद्ध धर्मलाई आफ्नो राष्ट्रिय मूल्य ठान्छन् र पहिचान मान्छन्।

लुम्बिनी संग्रहालय निर्माणका लागि भारत र नेपाल दुवै देश मिलेर काम गरिरहेका छन्। मोदीको पछिल्लो लुम्बिनी भ्रमणका क्रममा हस्ताक्षर गरिएका अन्य महत्त्वपूर्ण सम्झौताहरूमध्ये मद्रास आइआइटी र काठमाडौं विश्वविद्यालयबिच संयुक्त डिग्री कार्यक्रमका लागि प्रस्तावित सहयोग र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र लुम्बिनी बौद्ध विश्वविद्यालयबिच डा. अम्बेडकर चेयर अफ बुद्धिस्ट स्टडीका सम्झौताहरू हुन्। साथै इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) र सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिएनएएस), त्रिभुवन विश्वविद्यालयबिच भारतीय अध्ययनको आइसिसिआर अध्यक्षको स्थापनाका लागि एमओयुमा हस्ताक्षर भएको थियो भने आइसिसिआर र काठमाडौं विश्वविद्यालयबिच अर्को एमओयुमा हस्ताक्षर भएको थियो। अमेरिका, चीन, क्यानडा, फ्रान्स, जर्मनी र थाइल्यान्डलगायत देशले पनि लुम्बिनीमा बुद्ध दर्शनको  प्रवर्धन गर्ने औजारका रूपमा आफ्ना केन्द्र बनाएका छन्।

लुम्बिनी भ्रमणका क्रममा मोदीले बौद्ध सर्किटको महत्त्व दर्साउँदै भनेका थिए, ‘भारत–नेपाल संयुक्त योजनाको घोषणाले लुम्बिनीलाई भारतीय टुर अपरेटरहरूले प्रवर्धन गरेको बौद्ध सर्किटमा पक्कै पनि उचित स्थान दिनेछ। मोदीले त्यो बेला लुम्बिनी बुद्धको जन्मस्थल भएको बताएका थिए। कारण, नेपालमा बेलाबेला बुद्धको उत्पत्तिमा भारत सरकारको फरक आस्था रहेको दाबी गर्दै नेपाल–भारत सम्बन्धलाई नकारात्मक ढंगबाट उचाल्दै आएका छन्। ओली र मोदीबिच बोधगयामा हुन लागेको भेटवार्ताले नकारात्मक धारणालाई हटाउनसमेत मद्दत पुग्ने बताइन्छ।

बुद्ध जन्मस्थल लुम्बिनी चीनको आर्थिक सहयोगमा बनेको विमानस्थलदेखि चिनियाँ गुम्बासम्म चीनको उपस्थिति भारतीय सिमानानजिक रहेको ठाउँ हो। यस अर्थमा पनि भारतले बुद्ध र बुद्ध जन्मेको स्थानसँग भारतको गहिरो साइनो रहेको प्रस्ट्याउन चाहन्छ।

चाखलाग्दो कुरा के छ भने चीनले लुम्बिनीलाई चिनियाँ-नेपाली सिमानाको तिब्बती सहर केरुङसँग सडक र रेलमार्गबाट जोड्ने प्रस्ताव गरेको छ। जसले यसलाई प्रभावकारी रूपमा बिआरआई नेटवर्कसँग जोड्नेछ। चीनको बौद्ध सफ्ट पावर पहलले श्रीलंकाजस्ता बिआरआई वार्तामा संलग्न भएका अन्य बौद्ध देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनमा केन्द्रित छ। वास्तवमा बिआरआई कार्यक्रमलाई प्रवर्धन गर्न बौद्ध धर्मको प्रयोगलाई चीनले हरेक तीन वर्षमा आयोजना गर्ने २०१८ विश्व बौद्ध फोरमको चिनियाँ एजेन्डामा स्पष्ट रूपमा सूचीबद्ध गरिएको थियो।

बुद्ध धर्मका आधारमा नेपालसँगको सम्बन्धलाई प्रगाढ बनाउनुले भारत सरकारको ‘छिमेकी पहिलो’ नीतिका ठुला नीतिगत उद्देश्यहरू पूरा गर्न सम्भवतः बोधगया द्विपक्षीय भेटवार्ता सहयोगी हुन सक्छ। प्रधानमन्त्री मोदीको बौद्ध कूटनीतिले यस क्षेत्रका बौद्ध चाडपर्वहरू र संस्थाहरूको चिनियाँ प्रायोजन र संरक्षणको प्रबलतालाई चुनौती दिने भारतको सफ्ट पावर छविलाई बढावा दिन निश्चित रूपमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

मिस्रीको कूटनीतिक दौड

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार बिहान आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भ्रमणको पहिलो दिन राजनीतिक भेटघाट सम्पन्न गरेका छन्। उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सरकार पक्षीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु देउवा राणासँग भेटघाट गरेका थिए।

 प्रधानमन्त्री ओलीसँग सिंहदरबारमा भेट गरेलगत्तै राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका मिस्री त्यसपछि नेपाली कांग्रेसका सभापति देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवालाई भेटेर मिस्री प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका थिए। उच्चस्तरीय भेटवार्तामा नेपाल-भारत द्विपक्षीय हितका विषयमा छलफल भएका थिए।

प्रकाशित: २ भाद्र २०८२ ०६:३२ सोमबार