राजनीति

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यानाकर्षण : शान्ति र सद्भाव कायम राख्न अपिल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सुनसरीको देवानगन्जमा भएको घटना र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको छ। घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ र समितिले काम पनि सुरु गरिसकेको छ।

पीडित पक्षलाई उचित क्षतिपूर्ति र दोषीलाई कडा कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। सरकारले कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट नहुने स्पष्ट पारेको उल्लेख छ। प्रधानमन्त्री कार्यालयले नेपाली समाजले सदियौँदेखि कायम राखेको धार्मिक सहिष्णुता, एकता र सद्भावमा खलल पुग्ने गतिविधिमा नलाग्न, भ्रामक सूचना नफैलाउन र उच्च संयमता अपनाउन सरकारले सबै पक्षलाई आग्रह गरेको छ।

मुलुकमा शान्ति, सुव्यवस्था र सद्भाव जोगाउन सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संस्था, सञ्चार माध्यम र आम नागरिकलाई कार्यालयले आह्वान गरेको छ।

विज्ञप्ति हेर्नुस्

प्रकाशित: १२ श्रावण २०८३ २०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App