प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकहरूलाई सम्बोधन गर्दै जीवनको यस कठिन घडीमा सरकार अभिभावक बनेर साथमा उभिने प्रतिबद्धता जनाएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत नियमित ब्रिफिङ गर्दै उनले नुवाकोटको बेत्रावतीबाट ६४ वर्षीया चन्द्रीका श्रेष्ठको जीवितै उद्धार भएको खबरले सिङ्गो देशलाई आशा दिएको र सुरक्षाकर्मीहरू अझै पनि डटेर खोजीमा लागिरहेको बताएका छन्।
बाढीको त्रासदीपूर्ण क्षणमा थरथर काँपिरहेका हातहरूले नातिनातिनालाई च्यापेर डाँडातिर दौडिएका हजुरबुबा-हजुरआमाहरूको अदम्य साहसको स्मरण गर्दै प्रधानमन्त्रीले जीवनभरको कमाइ, घरआँगन र सन्तान गुमाउनुपरेको पीडाप्रति समवेदना व्यक्त गरे।
आँखा अगाडि आफ्ना सन्तान बगेको हेर्न विवश भएका र जीवनसाथी गुमाएका ज्येष्ठ नागरिकहरूको छातीको रित्तोपनलाई राज्यले हृदयदेखि नै महसुस गरेको उनले उल्लेख गरे।
बाढीका कारण नुवाकोटको विदुरस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’ क्षतिग्रस्त भएपछि त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरूको सुरक्षित व्यवस्थापन गरिएको प्रधानमन्त्रीले जानकारी दिए।
प्रतिष्ठानका ७ जना आमाबुबालाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयर र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ।
उनीहरूका लागि ह्विलचेयर, वाकर, नियमित स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको छ।
अस्थायी शिविरहरूको बसाइलाई सकेसम्म छोटो बनाएर छिट्टै सुरक्षित र स्थायी बसोबासको प्रबन्ध मिलाइने प्रधानमन्त्रीले बताए।
‘हजुरहरूले जीवनमा अनेक आँधीबेहरी पार गर्नुभएको छ, भोटेकोशीले ओत र जायजेथा बगाए पनि स्वाभिमान र अनुभव बगाउन सकेको छैन,’ प्रधानमन्त्री शाहले भने, ‘हजुरहरू यो देशको जग हुनुहुन्छ, मन दह्रो बनाइदिनुहोस्। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।’
आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै प्रधानमन्त्रीले त्यो आक्रोश नभई असह्य पीडा व्यक्त गर्ने माध्यम भएको सुनाए।
यस संवेदनशील घडीमा शोक र पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, खिसीट्युरी गर्ने र थप पीडा दिनेहरूलाई अपराधी भन्दै उनले त्यस्ता तत्त्वहरूप्रति सरकार निर्मम रूपमा प्रस्तुत हुने चेतावनी दिए।
प्रधानमन्त्रीले कुनै बहाना नबनाई दलदल र खण्डहरमा आफ्नो ज्यान जोखिममा राखेर खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीहरूको प्रशंसा गरे।
उनले उद्धारकर्मीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको भन्दै सम्पूर्ण नागरिकलाई सरकारमाथि भरोसा राख्न अपिल गरेका छन्।
प्रकाशित: २० भाद्र २०८३ २०:१३ शनिबार