प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमणले अहिले एउटा हिमाली जिल्लाको नियमित भ्रमणभन्दा निकै ठूलो राजनीतिक, पर्यटन र पूर्वाधारसम्बन्धी अर्थ बोकेको छ।
प्रधानमन्त्रीका रूपमा पहिलो स्वदेश भ्रमणका लागि उनले मुस्ताङ रोज्नु र राजधानी वा सहज हवाई यात्राको विकल्प छाडेर सडकमार्ग हुँदै जोमसोम पुग्नुले भ्रमणलाई थप अर्थपूर्ण बनाएको छ।
अझ बर्खायाममा बेनी–जोमसोम सडकको कठिन यात्रा आफैँले सवारीसाधन चलाएर पार गर्नुले प्रधानमन्त्रीलाई शासनको केन्द्रमा मात्र होइन, जनताको दैनिक दुःख–सास्तीको प्रत्यक्ष अनुभव गर्ने कार्यकारी प्रमुखका रूपमा प्रस्तुत गरेको छ।
मुस्ताङवासीका लागि प्रधानमन्त्रीको यो आगमन उत्साहको विषय बनेको छ। देशको कार्यकारी प्रमुख कुनै औपचारिक कार्यक्रमका लागि मात्र नभई स्थानीय भूगोल, सडक, पर्यटन र धार्मिक महत्वलाई प्रत्यक्ष अनुभव गर्न आफ्नै सवारीसाधनमा आइपुग्नुले स्थानीयमा अपनत्वको भावना बढाएको देखिन्छ। प्रधानमन्त्री शाहको भ्रमणसँगै मुस्ताङको चर्चा पनि राष्ट्रिय तहमा चुलिएको छ।
यस भ्रमणको अर्को महत्वपूर्ण पक्ष धार्मिक पर्यटन हो। प्रधानमन्त्री शाहले मुक्तिनाथको दर्शन गरेर नेपालको महत्वपूर्ण धार्मिक तीर्थस्थलप्रतिको राष्ट्रिय सम्मान र यसको अन्तर्राष्ट्रिय महत्वलाई पुनः उजागर गरेका छन्। मुक्तिनाथ नेपालका लागि धार्मिक आस्थाको केन्द्र मात्र होइन, भारतलगायत छिमेकी मुलुकका तीर्थयात्रीलाई आकर्षित गर्ने महत्वपूर्ण पर्यटन गन्तव्य पनि हो। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि भारतीय दर्शनार्थीको आगमनमा उल्लेख्य वृद्धि भएको अनुभव मुस्ताङका पर्यटन व्यवसायीले सुनाउँदै आएका छन्। त्यसकारण प्रधानमन्त्री शाहको मुक्तिनाथ दर्शनले पनि धार्मिक पर्यटनको प्रचार र गन्तव्यको अन्तर्राष्ट्रिय ब्रान्डिङमा सकारात्मक प्रभाव पार्ने अपेक्षा स्वाभाविक छ।
प्रधानमन्त्रीको भ्रमणले मुस्ताङको पर्यटन सम्भावनालाई चर्चामा ल्याएको छ, तर भ्रमणको वास्तविक उपलब्धि भने प्रचारमा मात्र सीमित हुनु हुँदैन। मुस्ताङ पुग्ने पर्यटकले सबैभन्दा पहिले सामना गर्ने समस्या नै कमजोर यातायात पूर्वाधार हो। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको अवस्था प्रधानमन्त्री आफैँले प्रत्यक्ष भोगेका छन्। सडकको धुलो, पहिरो, हिलो र जोखिमलाई प्रत्यक्ष अनुभूति गरेका प्रधानमन्त्रीका लागि अब यस सडकको स्तरोन्नति केवल कागजी योजना नभई आफ्नै अनुभवसँग जोडिएको विषय बन्न सक्छ। यही कारण मुस्ताङ भ्रमणले सडक पूर्वाधार विकासलाई पनि प्राथमिकतामा ल्याउने अपेक्षा गरिएको छ।
मुस्ताङको सम्भावना जोमसोम र मुक्तिनाथमा मात्र सीमित छैन। उपल्लो मुस्ताङ, कोरला नाका र कैलाश मानसरोवरसँग जोडिएको धार्मिक तथा सीमापार पर्यटनको सम्भावना अझ ठूलो छ। कोरला नाकामा अध्यागमन र राहदानीसम्बन्धी सेवा प्रभावकारी बनाउन सकिए तथा उपल्लो मुस्ताङको पर्यटनसम्बन्धी विद्यमान व्यवस्थालाई सम्भावनाअनुकूल सहज बनाउन सकिए नेपाल–भारत–चीन जोड्ने नयाँ पर्यटन मार्ग विकास गर्न सकिन्छ। यसले मुस्ताङलाई देशको एउटा प्रमुख पर्यटकीय गन्तव्यबाट अन्तर्राष्ट्रिय पर्यटनको रणनीतिक केन्द्रसम्म पुर्याउन सक्ने सम्भावना राख्छ।
यस सन्दर्भमा प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणले विकासको प्राथमिकता काठमाडौंको सीमाभित्र मात्र खोजिनु हुँदैन भन्ने सन्देश प्रवाह गरेको छ। देशको दुर्गम भूगोल, सीमावर्ती क्षेत्र र सम्भावनाले भरिएका तर पूर्वाधारका दृष्टिले पछाडि रहेका स्थानलाई राज्यको केन्द्रमा ल्याउनुपर्छ। प्रधानमन्त्री आफैँ त्यस्ता स्थानमा पुग्दा स्थानीय समस्या प्रत्यक्ष बुझ्ने अवसर मात्र प्राप्त हुँदैन, सरकारको ध्यान पनि ती क्षेत्रमा केन्द्रित हुन्छ।
नेपालका कार्यकारी प्रमुखको यसखालको भ्रमण नयाँ विषय भने होइन। तत्कालीन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ पुगेकी थिइन्। तर उनको भ्रमण हवाई माध्यमबाट पोखरा हुँदै नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ क्षेत्रमा केन्द्रित थियो। त्यसको तुलनामा प्रधानमन्त्री शाहको सडकमार्ग रोजाइ र यात्रा आफैँले सवारी चलाएर गर्नुले प्रतीकात्मक रूपमा फरक सन्देश दिएको छ। यसले ‘प्रधानमन्त्री जनताको बाटोबाटै जनताको समस्या बुझ्न सक्छन्’ भन्ने धारणा निर्माण गरेको छ।
यस्ता भ्रमणको महत्व त्यतिबेला मात्र स्थापित हुन्छ, जब भ्रमणपछि नीति, बजेट र कार्यान्वयनमा त्यसको प्रभाव देखिन्छ। प्रधानमन्त्रीले बेनी–जोमसोम सडकको अवस्था देखे, मुस्ताङको पर्यटन सम्भावना बुझे र मुक्तिनाथको धार्मिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रस्तुत गरे। अब त्यसको परिणामका रूपमा सडक सुधार, पर्यटन पूर्वाधार विस्तार, कोरला नाकाको व्यवस्थित सञ्चालन, धार्मिक पर्यटनको प्रवर्द्धन र स्थानीय व्यवसायको क्षमता विकासमा ठोस पहल देखिन आवश्यक छ।
मुस्ताङ भ्रमणले प्रधानमन्त्री शाहका लागि पनि एउटा अवसर सिर्जना गरेको छ। शासनको केन्द्रबाट दुर्गम भूगोलतर्फ पुगेर समस्या हेर्नु र जनतासँग प्रत्यक्ष जोडिनु कार्यकारी नेतृत्वको प्रभावकारी शैली बन्न सक्छ। तर यस्तो शैलीलाई निरन्तरता दिँदै भ्रमणलाई परिणामसँग जोड्न सकिएन भने यो पनि अन्य राजनीतिक भ्रमणजस्तै केही दिनको चर्चामा सीमित हुनेछ।
अहिलेका लागि भने प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणले सकारात्मक मनोवैज्ञानिक प्रभाव पारेको छ। स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन्, मुक्तिनाथको चर्चा बढेको छ र सडक पूर्वाधारको समस्याले प्रधानमन्त्रीको प्रत्यक्ष ध्यान पाएको छ। सबैभन्दा महत्वपूर्ण कुरा, देशको कार्यकारी प्रमुखले आफ्नो पहिलो स्वदेश भ्रमणका लागि मुस्ताङ रोज्नु आफैँमा एउटा राजनीतिक सन्देश हो—दुर्गम भूगोल राज्यको प्राथमिकताबाट बाहिर छैन।
अब त्यो सन्देशलाई व्यवहारमा प्रमाणित गर्ने जिम्मेवारी सरकारकै हो। मुस्ताङको सडक सुधारियो, पर्यटन पूर्वाधार विस्तार भयो, कोरला नाका व्यवस्थित र प्रभावकारी बन्यो तथा स्थानीय अर्थतन्त्रले त्यसको लाभ पायो भने प्रधानमन्त्रीको यो भ्रमण एउटा सम्झनलायक राजनीतिक यात्रामात्र होइन, नीति परिवर्तनको सुरुवातका रूपमा स्थापित हुनेछ। अन्यथा, मुक्तिनाथको दर्शन र मुस्ताङको यात्रा पनि नेपाली राजनीतिको छोटो समयको चर्चामै सीमित हुन सक्छ।
प्रकाशित: ७ भाद्र २०८३ २१:१० आइतबार
-600x400.jpg)


