राजनीति

निजी क्षेत्रलाई प्रधानमन्त्रीको ढाडस, अर्थतन्त्र सुधार्न सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले लगानी विस्तार र व्यवसाय सञ्चालनका लागि सहज तथा अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

छलफलमा प्रधानमन्त्रीले उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोग्दै आएका समस्या र चुनौतीबारे व्यवसायीहरूसँग प्रत्यक्ष जानकारी लिएका थिए । सहभागी रास्वपा सांसद विदुषी राणाका अनुसार व्यवसायीहरूले नीतिगत तथा कानुनी सुधारमार्फत निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री शाहले नेपालमा लगानीको प्राथमिकतामा पहिलो स्थान स्वदेशी व्यवसायीलाई, त्यसपछि गैरआवासीय नेपालीलाई र तेस्रो प्राथमिकता विदेशी लगानीलाई दिनुपर्ने धारणा राखेको राणाले बताइन् ।

व्यवसायीहरूले नेपाली निजी क्षेत्र ठूला पूर्वाधार आयोजना निर्माण गर्न सक्षम रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक कानुनी र नीतिगत सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै व्यवसायीहरूले लगानीकर्ताको मनोबल बढाउने वातावरण निर्माण गर्न राज्यले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्राउ तथा थुनामा राख्ने प्रवृत्तिले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनाएको उनीहरूको गुनासो थियो ।

निजी क्षेत्रका समस्या, लगानीको वातावरण तथा आवश्यक कानुनी संशोधनका विषयमा अब प्रधानमन्त्री कार्यालयले प्रत्येक तीन महिनामा व्यवसायीहरूसँग नियमित छलफल गर्ने समझदारीसमेत भएको छ ।

छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाललगायत सहभागी थिए ।

प्रकाशित: २६ भाद्र २०८३ १४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App