नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले ‘शेषनाघले पृथ्वी बोकेको कुरा दन्त्यकथा मात्रै भएको’ भन्दै टिप्पणी गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै शर्माले यस्तो बताएका हुन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले आफूले नै देश धानिरहेको अनुभूति हुने गरेको भन्दै बोलेका थिए। ‘अहिले हुन त म सरकारको नेतृत्वमा पनि छैन, प्रमुख प्रतिपक्षी दलको नेता छु,’ दाहालले भनेका थिए,‘तर, यस्तो लाग्छ–देशको राजनीतिको खाँबो मैले छोड्दिने हो भने भत्किहाल्छ कि जस्तो लाग्छ। गर्ल्यामगुर्लुम ढल्ने हो कि जस्तो लाग्छ र पूरै जिम्मा मेरै काँधमा भा जस्तो।’
आफ्नो जीवन निश्चित समयसम्मका लागि मात्रै भए पनि आफूलाई देशको चिन्ता धेरै रहेको दाहालले बयान दिएका थिए । ‘कैलेकाहीँ सोच्छु–यस्तो हुँदैन जीवन त। मान्छे एउटा निश्चित समयसम्म गर्ने हो त्यसपछि प्रकृतिको नियम बमोजिम शाश्वत कुरा मरिन्छ, अर्कोले लान्छ गाडी,’ दाहालले भनेका थिए।
शनिबार ‘वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण बहस’ कार्यक्रममा सम्बोधन गर्दै शर्माले त्यसैलाई प्रतिवाद गरेका हुन्।
‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन। बोकेको पनि हुँदैन, त्यो त दन्त्यकथा हो,’ शर्माले भने, ‘शेषनागले हल्लाइदियो भने भूकम्प आउँछ भन्ने कुरा दन्त्यकथा हो, आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो।’
कसैले छाड्दैमा पृथ्वी नचल्ने भन्ने कुरा असत्य भइसकेको उनले बताए ‘पृथ्वी चल्छ, केही ढल्दैन। पृथ्वी कसैले छोड्दैमा ढल्दैन’, शर्माले अगाडि भने।
प्रकाशित: ७ भाद्र २०८२ १८:१७ शनिबार



