राजनीति

प्रजातन्त्रमा निषेधको राजनीति स्वीकार्य हुँदैन: बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले प्रजातन्त्रमा निषेधको राजनीति स्वीकार्य नहुने बताएका छन्।

भक्तपुर नगरपालिकामा नेमकिपाको एकलौटी बहुमत रहेकाले अन्य दललाई निषेध गरेको भनी लाग्ने गरेको आरोप सरासर असत्य रहेको उनको दाबी छ।

भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘सञ्चारमाध्यममा भक्तपुर नपा’ पुस्तकको समीक्षा तथा सञ्चारकर्मीहरूलाई धन्यवाद दिन आइतबार आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेँले यस्तो बताएका हुन्।

फरक प्रसंगमा उनले रातारात परिवर्तन सम्भव नहुने भन्दै नयाँ पुस्तालाई धैर्यधारण गर्न आग्रह गरे। समाज रूपान्तरणका लागि समय लाग्ने भएकाले निरन्तर कर्ममा जुटिरहनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरको विकासमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताए।

नगरपालिकाका गतिविधिबारे मिडियामा आएका समाचार तथा लेख-रचनाहरूको उच्च मूल्याङ्कन गर्दै दस्तावेजका रूपमा पुस्तक प्रकाशन गरिएको उनले जानकारी दिए।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले भक्तपुर नगरपालिकाका विषयमा रिपोर्टिङ गर्दाका आ-आफ्ना अनुभव सुनाएका थिए।

प्रकाशित: ७ भाद्र २०८३ १९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App