राजनीति

बिबिसीको डकुमेन्ट्रीमा सुरक्षाकर्मीको कलसाइनबाट आएको आदेश भन्दै भ्रम फैलाउने तत्वको पहिचान गर्दै प्रहरी

बिबिसीले भदौ २३ र २४ को जेनजी आन्दोलनबारे तयार पारेको डकुमेन्ट्रीमा सुरक्षाकर्मीको कलसाइनबाट आएको आदेश भन्दै नेपाल प्रहरीको मनोबल खस्काउने तत्व को हो भन्ने पहिचानमा प्रहरी लागेको छ।

नेपाल प्रहरीले कानुनबमोजिमको जिम्मेवारी पूरा गर्ने र फिल्डमा खटेर काम गरेको अवस्थामा संगठन नै सिध्याउन लाग्ने तत्व नेपाल प्रहरीभित्र वा छानबिन आयोगमा हुन सक्नेतर्फ प्रहरीका एक अधिकारीले शंका गरेका छन्।

‘संगठनको विभिन्न तहमा रहेका र स्वार्थमा एकले अर्कालाई सिध्याउने नाममा गोप्यता बाहिर ल्याएर गलत तथ्य खडा गर्ने र गलत भाष्य निर्माण गर्ने तत्वबारे प्रहरीले खोजी गरिरहेको छ। यो भ्रमपूर्ण समाचारमा राखिएका तथ्य गलत छन्। नेपाल प्रहरीलाई दोषी देखाएर कोही उम्किन नखोजे हुन्छ’, नेपाल प्रहरीका एक अधिकारीले भने।

निर्वाचनको सम्मुखमा जेनजी आन्दोलनमा भएका घटनाका छनोटपूर्ण र भावनात्मक दृश्य राखेर तयार पारिएको बिबिसीको लघुवृत्तचित्र (डकुमेन्ट्री) सार्वजनिक गरी छानबिन आयोग र जनमतलाई प्रभावित पार्न खोजिएको छ। जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न सरकारले आयोग गठन गरेको छ। एकपक्षीय व्यक्तिहरू राखेर आयोग बनाइए पनि त्यसको प्रतिवेदन नआइसकेको अवस्थामा जेनजी आन्दोलनमा भएका घटनामा नेपाल प्रहरीलाई दोषी करार गर्दै बिबिसीले तयार पारेको लघुवृत्तचित्र सार्वजनिक भएको हो।

उक्त लघुवृत्तचित्र चुनावको मुखैमा सार्वजनिक गर्नुले पश्चिमा जगत्को उद्देश्य छानबिन आयोग र चुनाव दुवैलाई प्रभावित पार्ने रहेको देखिएको छ। नेपालसँग सबैभन्दा पुरानो मित्रता भएको मुलुक बेलायत सरकार मातहतको ब्रिटिस बोर्डकास्टिङ कर्पोरेसन (बिबिसी) ले अंग्रेजी र नेपाली दुवै भाषामा तयार पारेर प्रसारण गरेको डकुमेन्ट्रीले यहाँको राजनीतिमा प्रभाव पार्न खोजेको छ। निर्वाचन आयोगले समेत आपत्ति जनाएर उक्त वृत्तचित्रको भिडियो हटाउन बिहीबार नै प्रेस काउन्सिल नेपाललाई भने पनि अहिलेसम्म हटाइएको छैन।

यसबाट नेपालको जेनजी आन्दोलनलाई एकपक्षीय ढंगले प्रस्तुत गरी राष्ट्रिय अस्मितामाथि विदेशी सञ्चारमाध्यमले खेल्न खोजेको प्रष्ट देखिएको छ।

 

यो पनि पढ्नुहोस्

भाँडभैलो मच्चाउन बिबिसीको छनोटपूर्ण डकुमेन्ट्री

 

प्रकाशित: १६ फाल्गुन २०८२ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App