नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पार्टीको एघारौं महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने संकेत दिएका छन्। दसौं महाधिवेशनमै अध्यक्ष पदका लागि ‘डिजर्ब’ छु भनेका पोखरेलले एघारौं महाधिवेशनमा विद्या भण्डारी पक्षको समर्थनमा अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गर्ने संकेत दिएका हुन्।
एमालेले पार्टीको सक्रिय राजनीतिमा फर्कन चाहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगरेपछि उनको समेत समर्थनमा पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने मनस्थिति बनाएका हुन्। भण्डारीले पनि पोखरेललाई अध्यक्ष पदमा उम्मेदवार बन्ने तयारी गर्न आग्रह गरिसकेकी छन्। ‘पूर्वराष्ट्रपति विद्या भण्डारीको समेत सहयोगमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले अध्यक्ष पदमा दाबी प्रस्तुत गर्नु हुनेछ’, एमालेका एक नेताले भने, ‘उहाँको नेतृत्वमा अब टिम बन्नेछ र पार्टीलाई सामूहिक नेतृत्व प्रणालीमा लगिनेछ।’
महाधिवेशन मंसिर २७–२९ मा काठमाडौंमा हुने तय भएको छ। महाधिवेशनका क्रममा कोको नेतृत्वमा जाने भन्नेबारे छुट्टै छलफल हुने छ। एमाले अध्यक्ष ओलीले पनि केही दिनअघि एक सञ्चारमाध्यममा सचिवालय बैठकमा छलफल गरेर अघि बढ्ने बताएका छन्।
भण्डारी निकट एक केन्द्रीय सदस्यका अनुसार पोखरेलले भण्डारीसँगको कुराकानीमा आफूले अध्यक्षका लागि तयारी गरिरहेको र यस विषयमा साथीहरूसँग पनि छलफल गरी निर्णयमा पुग्ने बताएका थिए। ओलीले तेस्रो कार्यकाल पनि आफैं अध्यक्ष हुनेगरी गत भदौमा आयोजित विधान अधिवेशनबाट विधान संशोधन गर्न लगाएका थिए।
ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बनाउने पक्षमा महासचिव शंकर पोखरेल लगायतका नेता देखिएका छन्। तर पोखरेलको पक्षमा यतिबेला कोही देखिएका छैनन्। उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायतले पोखरेललाई साथ दिने सम्भावना रहे पनि उनीहरूले यो विषयमा केही बोलेका छैनन्। पोखरेलले भने आफू स्वाभाविक रुपमा अध्यक्षको दाबेदार रहेको बताइसकेका छन्।
ओलीका तर्फबाट महासचिव पोखरेलले महाधिवेशनका लागि तयारी गरिरहेका छन्। भण्डारीका तर्फबाट पनि पोखरेलको नेतृत्वमा टिम बनाउने तयारी भैरहेको छ। ओलीले प्रतिस्पर्धीविहीन बन्न पूर्वराष्ट्रपति भण्डारीको नवीकरण भइसकेको सदस्यता पनि रोकेर राखेका छन्। उनले पोखरेललाई पनि ‘साइज’मा राख्न खोजेका छन्। विधानबाट वरिष्ठ उपाध्यक्षको पद ओलीकै आग्रहमा हटाइएको हो।
गत असोजमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा केही सदस्यले ओलीको नेतृत्व जनताले अस्वीकार गर्ने अवस्था देखिएकाले पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए। ‘ओलीलाई अब जनताले पार्टी नेतृत्वको रुपमा अस्वीकार गर्ने अवस्था छ। यसमा पार्टीले पुनर्विचार गर्नुपर्छ भन्ने धारणा बैठकमा आएको थियो। यो विषयमा महाधिवेशनबाट टुंगो लगाउने आश्वासन दिइएको छ’, एक केन्द्रीय सदस्यले भने।
२०७८ मंसिरमा सम्पन्न दसौं महाधिवेशनबाट ओली अध्यक्ष निर्वाचित हुँदा उनकै समूहबाट पोखरेल वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए। संगठक पनि रहेका पोखरेल गुट बनाउन नजानेका कारण पछि पर्दै आएको पार्टीभित्र चर्चा हुने गरेको छ। सचिव योगेश भट्टराईले पटकपटक नेतृत्व पुनर्गठन गर्नुपर्ने प्रस्ताव अघि सार्दै आएका छन्। ‘पार्टी अध्यक्ष केपी ओली अब अभिभावक बन्नुपर्छ। नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’, उनी भन्छन्।
भदौ २३ र २४ को राजनीतिक परिदृष्यलाई पार्टीले विश्लेषण गरेर नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्नुपर्ने धारणा उनको छ। पोखरेल पनि ओलीले पद छाड्नु नै उपयुक्त हुने पक्षमा छन्। असोजमा भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा पोखरेलसहित बहुमत पदाधिकारीले अध्यक्ष पद छाड्न सुझाए पनि ओलीले अस्वीकार गरे। उनले महाधिवेशनबाट छिनोफानो गर्ने भन्दै नियमित समयभन्दा १३ महिनाअगावै महाधिवेशन मिति तोकिदए।
पूर्वराष्ट्रपति भण्डारीको निलम्बनमा राखिएको सदस्यता फुकाउनुपर्ने विषयमा पार्टीका ६ पदाधिकारीले कात्तिक १५ गतेको सचिवालय बैठकमा कुरा राखेका थिए तर ओलीले यस विषयमा आफैं भण्डारीसँग कुरा गर्ने भन्दै टारिदिएका थिए। भण्डारीको पार्टी सदस्यता फुकुवा नभएपछि उनकै समर्थनमा पोखरेल अध्यक्ष पदका लागि अघि सर्ने भएका हुन्।
विगतमा पोखरेल जता त्यतै संस्थापन भन्ने नजिर छ। माधवकुमार नेपाल महासचिव हुँदा स्थायी कमिटी सदस्य रहेका पोखरेल कोओर्डिनेसन केन्द्रसँगै तत्कालीन महासचिव मदन भण्डारी निकट थिए। ‘जनताको बहुदलीय जनवाद’को व्याख्याता पोखरेल जता उभियो त्यतै संस्थापन पक्ष भएको विगतबाट अहिले ओली पनि त्रासमा छन्।
बुटवलमा भएको आठौं महाधिवेशनमा ओली–माधव नेपाल मिल्दा पोखरेल झलनाथ खनाल खेमाबाट महासचिवको उम्मेदवार भएका थिए। त्यसबेला खनाल नै अध्यक्ष निर्वाचित भएका थिए। नवौं महाधिवेशनमा माधव–झलनाथविरुद्ध पोखरेल ओलीतिर उभिए। महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भए। १०औं महाधिवेशनमा ओलीलाई सर्वसम्मत गराउने पोखरेलेले प्रयत्न गरेका थिए।
प्रकाशित: २१ कार्तिक २०८२ ०६:२७ शुक्रबार



