नेकपा एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमण भेटघाट र औपचारिक सहमतिमा सीमित गर्न नहुने बताएका छन्। नागरिकसँगको कुराकानीमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले नेपालको राष्ट्रिय हितसँग जोडिएका विषयलाई स्पष्ट रूपमा उठाउनुपर्ने बताएका हुन्।
सीमा विवाद सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताउँदै ज्ञवालीले भने, ‘आत्मविश्वासका साथ प्रस्तुत हुनुहोस्। जे समस्याहरू छन्, तिनीहरूलाई गुन्द्रीमुनि लुकाउनुपर्ने जरुरी छैन।’
भारतीय राजनीतिक नेतृत्वले नेपालले मात्रै नभएर अरू छिमेकीहरूले आफ्ना कुरामा होमा हो मिलाउन् भन्ने चाहने गरेको उनले बताए। ‘आफ्नो पोलिसीहरूमा अलाइन गरिदिउन्, आफ्नो ग्रान्ड स्ट्राटेजी हुन्छ, त्यो स्ट्राटेजीको एउटा पार्ट बनुन् भन्ने खालको चाहना कहीं न कहीं राख्ने एउटा मानसिकता छ,’ उनले भने, ‘त्यो मानसिकता नेपालले स्वीकार गर्न सक्दैन।’
नेपाल सार्वभौम राष्ट्र भएको जनाउँदै उनले थपे, ‘भारतले हामीबाट गर्ने अपेक्षा नेपालले आफ्नो भूमि भारतको विरुद्ध प्रयोग हुन नदेओस्, भारतका विरुद्धको कुनै पनि अलायन्समा नलागोस्, भारतको राष्ट्रिय हितमा आघात हुने खालको कुनै काम नगरोस् भन्नेभन्दा बढ्ता अपेक्षा राख्नु हुँदैन।’
प्रकाशित: ५ मंसिर २०८३ ०७:४१ शनिबार



