कोशी प्रदेश लोक सेवा आयोगमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न संसदीय उपसमिति गठन गरिएको छ ।
बिहीबार बसेको प्रदेशसभा अन्तर्गतको सुशासन तथा योजना समितिको बैठकले छानबिन उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
समितिका सदस्य इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा गठित चार सदस्यीय उपसमितिमा राधाकृष्ण खनाल, भीमप्रसाद राजवंशी र मीना श्रेष्ठ सदस्य रहेका छन् । उपसमितिको सचिवमा प्रदेशसभा सचिव सुदर्शन खड्का तोकिएका छन् । उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
आयोगका तत्कालीन अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंमाथि लागेका आरोपबारे छानबिन गर्न उपसमिति गठन गरिएको समितिकी सभापति खगेश्वरी पौडेलले जानकारी दिइन् ।
प्रदेश लोक सेवा आयोगमा अनियमितता गरेको आरोप लागेपछि तत्कालीन अध्यक्ष गुरागाईंले गत कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा दिएका थिए । उनको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत भएको थियो ।
प्रकाशित: १० मंसिर २०८३ १९:४५ बिहीबार



