राजनीति

उज्यालो नेपाल पार्टीको एक वर्ष : रोजगारी सिर्जना र गरिबीको अन्त्य गर्ने कुलमानको प्रतिबद्धता

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुशासन, उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकतामा राख्दै नेपालको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टीको प्रथम स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष घिसिङले परम्परागत राजनीतिक सोच, अस्थिरता, कुशासन, भ्रष्टाचार, बेरोजगारी र गरिबीको दुष्चक्रबाट देशलाई मुक्त गर्दै समृद्धिको नयाँ बाटोमा अघि बढाउने लक्ष्य रहेको बताएका हुन्।

उनले पार्टीको आर्थिक रूपान्तरणको मूल आधार ‘हरित क्रान्ति’ भएको उल्लेख गरेका छन्। उनका अनुसार हरित क्रान्ति वातावरण संरक्षण र स्वच्छ ऊर्जाको विस्तारमा मात्र सीमित नभई नेपालको समग्र आर्थिक, सामाजिक र उत्पादन प्रणाली रूपान्तरण गर्ने दूरदृष्टि हो।

यस अभियानअन्तर्गत स्वच्छ तथा नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन, हरित कृषि, वातावरणमैत्री उद्योग, आधुनिक प्रविधि, पर्यटन विकास, डिजिटल अर्थतन्त्र र उद्यमशीलताको विस्तारलाई एकीकृत रूपमा अघि बढाउने उनको भनाइ छ।

घिसिङले कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट व्यावसायिक, आधुनिक र उत्पादनमुखी बनाउँदै किसानको आय वृद्धि गर्ने लक्ष्य रहेको बताएका छन्। त्यस्तै पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउने तथा सूचना प्रविधि, नवप्रवर्तन र कृत्रिम बुद्धिमत्ताको उपयोगमार्फत नेपाललाई ज्ञान तथा प्रविधिमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउने योजना रहेको उनले उल्लेख गरेका छन्।

पार्टीको सबैभन्दा महत्वपूर्ण प्राथमिकता रोजगारी सिर्जना र गरिबीको अन्त्य रहेको घिसिङले बताएका छन्। देशभित्रै सम्मानजनक रोजगारी र आयआर्जनका अवसर सिर्जना गरी युवालाई विदेशिनुपर्ने बाध्यताबाट मुक्त गर्ने, श्रम र सीपको सम्मान गर्ने तथा गरिबीको रेखामुनि रहेका नागरिकलाई आर्थिक अवसर र सामाजिक सुरक्षामार्फत माथि उठाउने उनको प्रतिबद्धता छ।

उनले आयातमा आधारित अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउने, स्वदेशी स्रोत, सीप, पुँजी र प्रविधिको अधिकतम परिचालन गर्ने तथा निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच प्रभावकारी सहकार्य स्थापित गर्ने लक्ष्य पनि अघि सारेका छन्।

राजनीतिक तथा वैचारिक रूपमा कुनै पनि अतिवादको पक्षमा नरहेको उल्लेख गर्दै घिसिङले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, आर्थिक स्वतन्त्रता, समावेशिता र जनउत्तरदायित्वमा आधारित मध्यमार्गी, व्यावहारिक र परिणाममुखी राजनीति गर्ने बताएका छन्।

उनले सुशासनबिना समृद्धि, उत्पादनबिना आत्मनिर्भरता र सामाजिक न्यायबिना समृद्धि सम्भव नहुने भन्दै पारदर्शी शासन व्यवस्था, भ्रष्टाचारमुक्त प्रशासन, जवाफदेही नेतृत्व र नागरिकको अर्थपूर्ण सहभागितालाई परिवर्तनको आधार मानेका छन्।

एक वर्षको यात्रा सिकाइ, अनुभव र आत्मसमीक्षाको अवसर भएको उल्लेख गर्दै उनले आगामी दिनमा पार्टीलाई अझ सशक्त, संगठित र जनताप्रति उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

'हामी यस्तो नेपाल निर्माण गर्न चाहन्छौँ, जहाँ युवाले देशमै भविष्य देखून्, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाऊन्, श्रमिकले सम्मानजनक रोजगारी पाऊन्, उद्यमीले अवसर पाऊन् र कुनै पनि नागरिक गरिबी, अभाव र विभेदका कारण पछाडि पर्नु नपरोस्,' उनले सन्देशमा भनेका छन्।

प्रकाशित: ५ मंसिर २०८३ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App