राजनीति

भदौ २४ प्रति ओलीको टिप्पणी: देशका लागि ‘कालो दिन’

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते भएको विध्वंसात्मक घटनाका कारण नेपाल कम्तीमा २५ वर्षभन्दा बढी पछाडि धकेलिएको दाबी गरेका छन्।

बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासमा पुगेका ओलीले उक्त दिनलाई देशका लागि ‘कालो दिन’को संज्ञा दिँदै अहिले घटनालाई लिएर खुसी हुनेहरूले भविष्यमा त्यसको असर महसुस गर्ने बताएका हुन्।

ओलीले देशको विकास, अर्थतन्त्र र समग्र प्रगतिमा उक्त घटनाले दीर्घकालीन असर पार्ने दाबी गरे। उनका अनुसार अहिलेको अवस्थाको वास्तविक प्रभाव समय बित्दै जाँदा थप स्पष्ट हुनेछ।

यसै क्रममा उनले गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका नेताहरूलाई सुध्रिन चेतावनी दिएको विषयमा समेत प्रतिक्रिया दिए। गृहमन्त्रीको अभिव्यक्तिप्रति व्यङ्ग्य गर्दै ओलीले प्रश्न गरे, 'आफूहरूले त्यस्ता अभिव्यक्तिका लागि प्रशंसा गर्नुपर्ने हो र ?'

उनले विगतमा आफूहरूलाई असुरक्षित अवस्था आउँदा हेलिकप्टरमार्फत बाहिरिनुपरेको प्रसङ्ग जोड्दै अहिले पनि त्यस्तै चेतावनी दिइएको भन्दै आपत्ति जनाए।

ओलीले नयाँ पुस्ताका नेताहरूले दिएको धम्कीपूर्ण अभिव्यक्तिलाई ‘केटाकेटीपन’का रूपमा टिप्पणी गर्दै यस्ता राजनीतिक पात्रहरू आउने र जाने गरेको बताए।

भदौ २४ को घटनापछि देशको राजनीतिक अवस्था, सुरक्षा व्यवस्था र आगामी दिशाबारे राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप तीव्र भइरहेका बेला ओलीको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो।

प्रकाशित: २४ भाद्र २०८३ १७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App