सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनाले सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने समाचार भ्रामक भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले कुनै पनि यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनीयता सुनिश्चत गर्न आग्रह समेत गरेका छन्। सरकार, हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको बताउँदै मन्त्री तिमिल्सिनाले नागरिकको करको पैसाको दुरुपयोग नगर्ने जिकिर गरे।
आफूहरूले जनताको हरेक रुपैयाँको मूल्य अनुभूत गरेको बताए। 'सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो? साथीहरू, कुनै पनि यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनियता सुनिश्चत गर्नुहोला,' उनले लेखे, 'यो सरकार, हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको छ, नागरिकको करको पैशाको दुरुपयोग गर्न हैन। जनताको हरेक रुपैयाँको मूल्य हामीले अनुभूत गरेका छौँ।'
प्रकाशित: ६ वैशाख २०८३ ०६:५८ आइतबार



