राजनीति

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभामा विश्वासको मत लिँदै छन्। आज अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लागेका हुन्। प्रदेश सभाबाट विश्वासको मत लिने गरी प्रदेश सभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयसमक्ष जानकारी गराएका थिए।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधार ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन्।  

यसैबीच सत्तारुढ कांग्रेस र एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन्। कांग्रेस संसदीय दलका सदस्यसचिव मीनकृष्ण महर्जन र एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले सूचना जारी गरी प्रदेशसभाको आजको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन्।

प्रकाशित: २७ श्रावण २०८२ ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App