राजनीति

विश्वप्रकाश उम्मेदवार नबन्ने, झापा-१ बाट नयाँ नाम सिफारिस

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं-१ मा नयाँ नाम सिफारिस गरिएको छ।

आज बसेको कांग्रेस क्षेत्र नं-१, क्षेत्रीय समितिको बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए।

सिफारिस हुनेमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू रहेका छन्।

पार्टीका तत्कालीन महामन्त्री एवम् वर्तमान उपसभापति शर्मा विसं २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

गत महिना पार्टी क्षेत्रीय समितिले उपसभापति शर्माको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। शर्माले यसपटक उम्मेदवार नबन्ने घोषणा गरेपछि पुनः नयाँ नाम सिफारिस गरिएको क्षेत्रीय सभापति बुढाथोकीले बताए।

प्रकाशित: ३ माघ २०८२ १८:४३ शनिबार