नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आज पाँचदिने भ्रमणका लागि चीन प्रस्थान गर्दै छन्।
उनको सचिवालयका अनुसार शर्मा आज राति चीन जाने कार्यक्रम रहेको छ। उनी एक्लै भ्रमणमा निस्कन लागेको जनाइएको छ।
कांग्रेस स्रोतका अनुसार भ्रमणका क्रममा शर्माले चीनमा विभिन्न राजनीतिक भेटघाटसमेत गर्नेछन्। यद्यपि, उनको सचिवालयले भ्रमणको विस्तृत तालिका भने सार्वजनिक गरेको छैन।
कांग्रेसभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला शर्माको चीन भ्रमणलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ। संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने तयारी गरिरहेको छ।
यसैबीच, नेपाली कांग्रेसले साउन २४ गते केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ। उपसभापति शर्मा उक्त बैठकअघि नै चीन भ्रमण पूरा गरी स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।
प्रकाशित: १८ श्रावण २०८३ १८:५० सोमबार



