नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले गहिरो दुःख व्यक्त गरेका छन्। नेता श्रेष्ठको निधनको खबरले आफूलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको थापाले बताएका छन्।
सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति श्रेष्ठले पुर्याएको अविचलित भूमिका सधैं प्रेरणादायी रहने बताएका छन्। ‘स्याङ्जाबाट सुरु भएको उहाँको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्याउनुभएको योगदान अविस्मरणीय छ। पार्टी र लोकतान्त्रिक आन्दोलनमा समर्पित उहाँजस्तो निष्ठावान, अनुभवी र निडर नेता गुमाउनु नेपाली कांग्रेस र सिङ्गो देशकै लागि अपूरणीय क्षति हो।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
थापाले दिवङ्गत नेता श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै, नेता श्रेष्ठले देखाएको निष्ठा र समर्पणको बाटोमा कांग्रेस निरन्तर हिँडिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
प्रकाशित: १२ श्रावण २०८३ १६:२९ मंगलबार



