राजनीति

परराष्ट्र नीतिमा सन्तुलन गुमे नेपालले थेग्न नसक्ने दबाब आउँछ : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। छिमेकी मुलुकसँगको सम्बन्धमा अविश्वास बढे शक्ति राष्ट्रहरूले आफ्नो प्रभाव विस्तार गर्न खोज्ने भन्दै उनले त्यसबाट नेपालले थेग्न नसक्ने दबाब सिर्जना हुन सक्ने चेतावनी दिएका हुन्। 

काठमाडौंमा आयोजित एक सेमिनारमा बोल्दै ज्ञवालीले नेपालको परराष्ट्र नीतिको ऐतिहासिक आधार गौतम बुद्धको मध्यम मार्ग, असंलग्नता र पञ्चशीलका सिद्धान्तसँग जोडिएको बताए। कुनै पनि अतिवादमा नलाग्ने र रणनीतिक समूहमा आबद्ध नहुने नेपालको परराष्ट्र नीतिको मूल मान्यतालाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो। 

‘नेपालले जहिले पनि स्वतन्त्र, सन्तुलित र विश्वासमाथि आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने हुन्छ,’ ज्ञवालीले भने, ‘हाम्रा कुनै पनि व्यवहारले छिमेकीहरू झस्किने र हामीप्रति अविश्वास बढ्ने अवस्था सिर्जना हुनु हुँदैन।’ 

उनले नेपालको सम्बन्ध पारदर्शी र विश्वसनीय भए छिमेकी मुलुकले नेपाली नेतृत्वमाथि विश्वास गर्ने बताए। 

‘जुन दिन हामीले त्यो सन्तुलन गुमायौँ र कुनै पनि छिमेकीप्रति अविश्वास बढ्ने स्थिति सिर्जना भयो भने नेपालले थेग्न नसक्ने दबाब आइलाग्छ भन्ने कुरालाई हामीले सधैँ हेक्का राख्नुपर्छ,’ उनले भने।  

ज्ञवालीले नेपालको भूराजनीतिक अवस्थिति चुनौती मात्र नभई अवसर पनि भएको बताए। दुई ठूला अर्थतन्त्र र विशाल जनसङ्ख्या भएका भारत र चीनको बीचमा रहेको नेपालको अवस्थालाई हीनभावनाका रूपमा लिन नहुने उनको धारणा थियो। 

भारत र चीन दुवै नेपालका लागि महत्त्वपूर्ण छिमेकी भएको उल्लेख गर्दै उनले दुवै मुलुकसँगको सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाएर भौगोलिक अवस्थिति र आर्थिक सम्भावनाको लाभ लिनुपर्ने बताए। 

उनले अहिले नेपालले चीनसँगको सम्बन्ध अघि बढाउने क्रममा भोगिरहेको प्रमुख चुनौती पर्याप्त पूर्वाधार र कनेक्टिभिटीको अभाव भएको उल्लेख गरे। नेपाल भूपरिवेष्टित मुलुक भएकाले पारवहन तथा यातायात सम्पर्क विस्तार विकासका लागि विलासिताको विषय नभई आवश्यकता र अधिकारको विषय भएको उनको भनाइ थियो। 

प्रकाशित: १७ कार्तिक २०८३ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App