उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत् ११४६ ले काठमाडौं उपत्यकाको नयाँ बहीखाता परम्परालाई मात्र नभइ, सिंगो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको अनमोल संस्कृतिलाई जीवन्त राखेको बताएका छन्।
उपराष्ट्रपति यादवले नेपाल संवत् ११४६ को सुखद् आरम्भको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दै कात्तिक शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने नेपाल संवत्ले सो कुरा उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘यो राष्ट्रिय संवतको नयाँ वर्षले समस्त देशवासीलाई एकताबद्ध भई राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई सुदृढ गर्दै समृद्ध मुलुक निर्माणको महाअभियानमा एकाग्रताका साथ अघि बढ्न प्रेरणा र प्रोत्साहन मिलोस् भन्ने हार्दिक कामनाका साथ पुन: शुभकामना व्यक्त गर्दछु।’
नेपाल संवतलाई मौलिक संवतको प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वालाई यस शुभ दिनमा हामी उच्च सम्मानका साथ स्मरण गर्दछौँ। उनले किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गरेको लोककल्याणकारी, नि:स्वार्थ र अतुलनीय योगदान नेपाल र नेपाली समाजका लागि सदैव प्रेरणाको स्रोत बनिरहने पनि उल्लेख गरेका छन्।
हाम्रो ‘विविधतामा एकता’ को मौलिक पहिचानलाई थप बलियो बनाउँदै, सम्पूर्ण नेपालीहरूबीच परस्पर अपनत्व भाव र सद्भाव बढाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।
प्रकाशित: ५ कार्तिक २०८२ ०८:०१ बुधबार



