राजनीति

गर्भवती र बालबालिकाको अवस्था सोध्दै होल्डिङ सेन्टर पुगिन् सांसद रञ्जु दर्शना

फाइल तस्बिर

सत्तारुढ दल रास्वपाबाट काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचित सांसद रञ्जु दर्शनाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी तथा भूमिहीन बस्तीका नागरिकहरूको अवस्था स्थलगत रूपमा अनुगमन गरेकी छन्।

उनले सेन्टरमा रहेका गर्भवती, सुत्केरी तथा साना बालबालिका भएका आमाहरूसँग भेटघाट गर्दै उनीहरूको समस्या, आवश्यकता र बसोबासको अवस्थाबारे जानकारी लिएकी हुन्।

देशभर सुकुम्वासी तथा भूमिहीन बस्ती व्यवस्थापनको काम तीव्र भइरहेका बेला संवेदनशील अवस्थाका नागरिकहरूको हेरचाहमा विशेष ध्यान दिनुपर्ने उनले बताएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले आफू सांसद मात्र नभई एक आमा पनि भएको उल्लेख गर्दै गर्भावस्था, प्रसव र सुत्केरी अवस्थाको अनुभव स्वयंले भोगिरहेको बताएकी छन्।

उनले गर्भवती, सुत्केरी तथा साना बालबालिका भएका परिवारहरूको तत्काल आवश्यकता सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिइन्।

दर्शनाले आफ्नो जन्मे–हुर्केको बस्ती भत्किएर सबैजना एउटै होल्डिङ सेन्टरमा बस्नुपरेको साझा पीडा देख्दा दुःख लागेको उल्लेख गर्दै सरकारले स्थायी व्यवस्थापन गर्ने आशा नागरिकहरूमा देखिएको बताएकी छन्।

उनका अनुसार हिजोको तुलनामा अहिले केही सुधार भएको छ। छुट्टाछुट्टै निलो टेन्टको व्यवस्था भएपछि बसोबास केही व्यवस्थित बनेको उनले बताइन्।

संघीय सरकार तथा भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्रालयको समन्वयमा काठमाडौं महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएको छ भने राधास्वामी आश्रमले खानाको व्यवस्था गरिरहेको छ।

दर्शनाले गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि पोषणयुक्त आहार सुनिश्चित गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको प्रोटेक्सन क्लस्टरमार्फत सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बताएकी छन्।

उनले भावनात्मक रूपमा पीडा देखाएर सुकुम्वासीलाई सधैं जोखिमयुक्त स्थानमै राखिराख्ने सोचसँग असहमति जनाउँदै सुरक्षित आवासको जिम्मेवारी सरकारले प्रभावकारी रूपमा पूरा गर्नुपर्नेमा जोड दिएकी छन्।

प्रकाशित: १७ वैशाख २०८३ १६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App