राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपाने (दर्शना)ले पछिल्लो समय ह्वाट्सएप ह्याक गरेर र विभिन्न प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ लुटिने क्रम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रविधिको दुरुपयोग गरी भइरहेका ठगीका घटना नियन्त्रण गर्न र साइबर ब्युरोको क्षमता बढाउन माग गरेकी हुन्। संसदमा बोल्दै सांसद दर्शनाले हालै घटेका केही प्रतिनिधि घटनाहरू प्रस्तुत गरिन्।
उनले भनिन्, ‘हालै बुद्धनगर निवासी तारा पोखरेलको वाट्सएप ह्याक भयो र ह्याकरले उनी बनेर उनका नजिकका मान्छेसँग पैसा मागे। उनको इज्जत र सम्मानका कारण सबैले आपत परेको ठानेर एकैछिनमा लाखौँ रुपैयाँ पठाइदिए।’
सांसद दर्शनाले यी लुटिएका पैसाहरू कुन ठाउँमा गइरहेका छन् र यसको पछाडि कस्तो गिरोह सक्रिय छ भन्नेबारे सरकारले तत्काल खोजी गर्नुपर्ने बताइन्। स्क्यामर (ठग) हरूले पैसा मगाउनका लागि नेपालकै कुनै न कुनै बैंक खाताको क्युआर कोड प्रयोग गरिरहेको भन्दै उनले बैंकिङ प्रणालीको कमजोरीमाथि समेत चासो व्यक्त गरिन्।
‘उनीहरूले नेपालमा वैधानिक रूपमै बैंक अकाउन्ट खोलिरहेका छन्। तसर्थ, सूचना पाउने बित्तिकै बैंकहरूले तत्काल ती स्क्यामरहरूको अकाउन्ट ब्लक गर्नुपर्छ,’ उनले भनिन्।
उनका अनुसार नेपाल प्रहरीको साइबर क्राइम ब्युरो स्रोत साधनको अभावका कारण कमजोर देखिएको छ। साइबर ब्युरोसँग सीमित स्रोत तर असीमित मुद्दा भएका कारण धेरै कुरा एकैचोटि समाधान हुन नसकेको भन्दै उनले ब्युरोलाई थप बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।
नागरिकहरूमा डिजिटल साक्षरता (डिजिटल लिटरेसी) को कमी भएका कारण पनि यस्ता ठगीका घटना बढेको भन्दै उनले यस विषयमा गम्भीर बन्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रकाशित: २९ जेष्ठ २०८३ १२:२६ शुक्रबार