राजनीति

देउवाको स्वदेश फिर्तीमाथि मोहन श्रेष्ठको प्रश्न : सफल राजनेता बन्ने कि असफल गुटनेता ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई लिएर प्रश्न उठाएका छन्।

स्वास्थ्य उपचारपछि सिंगापुरबाट नेपाल फर्किएका देउवाको राजनीतिक उद्देश्यबारे प्रश्न गर्दै श्रेष्ठले देउवाको स्वदेश फिर्तीको स्पष्ट उद्देश्य देखिन बाँकी रहेको टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले २०३३ सालमा बीपी कोइराला भारतबाट नेपाल फर्किएको प्रसंगसँग देउवाको फिर्तीलाई तुलना गरेका छन्। बीपीको स्वदेश फिर्ती राष्ट्रिय मेलमिलाप नीतिसँग जोडिएको उल्लेख गर्दै उनले देउवाले भने विमानस्थलमै त्यस्तो कुनै स्पष्ट राजनीतिक सन्देश दिन नसकेको बताएका छन्।

श्रेष्ठले कांग्रेसको आन्तरिक विवादमा मात्र केन्द्रित हुन देउवा स्वदेश फर्किएको हो भने त्यसको राष्ट्रिय अर्थ नरहने टिप्पणी गरेका छन्।

उनले देउवाको राजनीतिक भूमिकामाथि प्रश्न गर्दै देशले देउवाबाट अझै योगदानको अपेक्षा गरेको बताएका छन्।

श्रेष्ठले अन्त्यमा देउवामाथि प्रश्न गरेका छन्, ‘सफल राजनेता बन्ने कि असफल गुटनेता, छनोट उहाँकै।’

श्रेष्ठको उक्त टिप्पणी देउवा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएर कांग्रेसको आन्तरिक एकता तथा राष्ट्रिय एकताका विषयमा धारणा सार्वजनिक गरेको सन्दर्भमा आएको हो।

सामाजिक सञ्जालमा श्रेष्ठले लेखेका छन्: 

एकचोटिको प्रधानमन्त्री बिपी कोइराला ०३३ मा भारतबाट नेपाल फर्कनुभयो, पॅाचचोटिको प्रधानमन्त्री शेरबहादुर देउवा ०८३ मा सिंगापुरबाट नेपाल फर्किनुभएको छ। बिपी नेपाल फर्कनु हॅुदा राष्ट्रिय मेलमिलाप नीति र राजसंस्थाको निरन्तरताको विहंगम उद्देश्य थियो भने देउवा फर्कनुको उद्देश्य थाहा पाउन बॅाकी छ। त्रिभुवन विमानस्थलमै राष्ट्रिय मेलमिलाप नीतिको भाग-२ घोषणा गर्न उहॅा चुकिसक्नु भएको छ। कांग्रेसको आन्तरिक किचलोमा फस्न मात्र देउवा फर्कनुभएको हो भने उहॅा विदेश बस्नु र स्वदेश फर्कनुको कुनै तात्विक अर्थ देशले महशुस गर्ने छैन !

देशबाट देउवाले धेरै लिनुभयो, देशलाई देउवाले दिन बॅाकी धेरै छ…!

इतिहासको कति परसम्म सोच्नुहुन्छ उहॅाको विवेकको कुरा !

सफल राजनेता बन्ने कि असफल गुटनेता- छनौट उहॅाकै ।

प्रकाशित: २८ श्रावण २०८३ १५:५३ बिहीबार