राजनीति

बिजुलीकाे पैसा घटाउने ऊर्जा मन्त्रालयकाे तयारी

‘सिजनल ट्यारिफ’ मार्फत उपभोक्ता र उद्योगलाई सहुलियत दिइने

वर्षायाममा खेर गइरहेको विद्युत्को आन्तरिक खपत बढाउन सरकारले बिजुलीको महसुल घटाउने गृहकार्यलाई तीव्र पारेको छ।

‘सिजनल ट्यारिफ’ लागू गरेर आम उपभोक्ता तथा उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने तयारी अघि बढाइएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा नेपाल विद्युत् प्राधिकरणले गत साउन १३ गते महसुल दर पुनरावलोकन गर्न एक समिति गठन गरेको थियो।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उक्त कार्यदलको बैठक आज अपराह्न ४ बजे ऊर्जा मन्त्रालयमा बस्दै छ।

समितिमा ऊर्जा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविद्, उपभोक्ता अधिकारकर्मी तथा वित्त विज्ञहरू सदस्य छन्।

आज बस्ने बैठकले महसुल घटाउने व्यावहारिक उपाय र सिजनल ट्यारिफको ढाँचाबारे छलफल गर्नेछ। वर्षायाममा उत्पादित बिजुली खपत हुन नसक्दा प्राधिकरणले मासिक अर्बौँ रुपैयाँ नोक्सानी बेहोर्नु परिरहेको छ।

यही अवस्थालाई मध्यनजर गर्दै वर्षायामको बिजुली सस्तो बनाएर आन्तरिक खपत बढाउने रणनीति मन्त्रालयले लिएको हो।

संयोजक शाहीका अनुसार उद्योगहरूलाई वर्षायाममा सस्तो बिजुली दिँदा त्यसको लाभ सर्वसाधारण उपभोक्तासम्म पुग्ने गरी समन्वय भइरहेको छ।

‘सिजनल ट्यारिफमार्फत बिजुलीको पैसा कसरी घटाउन सकिन्छ भनेर आज मन्त्रालयमा बैठक बस्दै छ,’ संयोजक शाहीले भने, ‘उद्योगलाई वर्षायाममा सस्तो बिजुली दिँदा उनीहरूले आफ्ना उत्पादनमा उपभोक्तालाई कति सहुलियत दिन सक्छन् भन्नेबारे पनि छलफल भएको छ। हामी छिट्टै निर्णयमा पुग्छौं।’

पछिल्लो समय विद्युत्मा कर बढाइएको भन्दै सरकारको आलोचना भइरहेका बेला ऊर्जा मन्त्रालयले भने खेर जाने बिजुली सदुपयोग गर्दै उपभोक्ता र उद्योगी दुवैलाई राहत दिने गरी महसुल पुनरावलोकनको गृहकार्य अघि बढाएको हो।

प्रकाशित: ३ भाद्र २०८३ १५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App