ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको झापाको कन्काई पुलको आइतबार स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणपछि बोल्दै उनले लामो समयदेखि रोकिएको पुल निर्माणको कामलाई यथास्थितिमा राख्न नसकिने बताउँदै छिट्टै ठोस निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरे।
हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने यो रणनीतिक महत्वको पुलको निर्माण प्रगतिबारे मन्त्री घिसिङले जानकारी लिएका थिए।
सो अवसरमा उनले स्थानीय बासिन्दासँग छलफल गरी उनीहरूले भोग्नुपरेका समस्याबारे पनि जानकारी लिए। स्थानीयले पुल नबन्दा आवतजावतमा कष्ट बेहोर्नु परेको र यसले व्यापार, व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत नकारात्मक असर पारेको गुनासो गरेका थिए।
आर्थिक वर्ष २०६७/६८ मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी) सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको ७२३ मिटर लामो यो पुलको भौतिक तथा वित्तीय प्रगति हालसम्म ५५ प्रतिशत मात्रै छ।
निर्माण व्यवसायीले २०७६ सालसम्म काम गरे पनि निर्माणमा प्राविधिक त्रुटि देखिएपछि काम रोकिएको थियो। ठेक्का सम्झौताको म्याद २०८० मै सकिसकेको छ।
मन्त्री घिसिङले भने, ‘पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने वा के गर्ने भन्नेबारे तत्काल निर्णय लिनेछौं। जन-जी विकासँग जोडिएको यो पुललाई अब अलपत्र रहन दिँदैनौं, चाँडै निकास दिन्छौं।’
हुलाकी राजमार्ग योजना कार्यालय, इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये ८ वटा मात्र सम्पन्न भएका छन्। ११ स्पानमध्ये २ वटाको गर्डर हालिएको, ६ वटाको जग हालिएको र ३ वटाको जग हाल्न बाँकी रहेको छ।
यसैगरी, मन्त्री घिसिङले गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका–२ स्थित कन्काई सानोमाई खोलाको भाँचिएको पुलको पनि निरीक्षण गरेका थिए।
उनले उक्त पुलको तत्काल प्राविधिक परीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिए।
प्रकाशित: २६ आश्विन २०८२ १४:३३ आइतबार



