राजनीति

खानेपानी मन्त्री भण्डारीले सम्हाले जिम्मेवारी, परिणाममुखी काम गर्न कर्मचारीलाई निर्देशन

खानेपानीमन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रालय मातहतका सबै निकायलाई गौरवको अनुभूति हुने गरी परिणाममुखी काम गर्न निर्देशन दिएका छन्। आइतबार मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा उनले आमनागरिकलाई स्वच्छ, सुरक्षित र शुद्ध खानेपानी उपलब्ध गराउने मार्गमा सबैले इमान्दार भएर प्रयास गर्नुपर्ने बताए।  

मन्त्री भण्डारीले खानेपानी नागरिकको आधारभूत आवश्यकता र अधिकार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले प्रभावकारी योजना र कार्यान्वयनमा जोड दिनुपर्ने स्पष्ट पारे। देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि सुरक्षित खानेपानीको पहुँच नपुगेको भन्दै त्यसलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता मन्त्री भण्डारीको छ।  

“नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था गर्न सबै लाग्नुस् । आवश्यक सहकार्य र समन्वय गर्न मन्त्रालय प्रतिबद्ध छ”, मन्त्री भण्डारीले भने, “हामीले गर्ने कामले आमनागरिकलाई सहजता दिनुपर्छ र त्यसबाट कर्मचारीदेखि नेतृत्वसम्म सबैले गौरवको अनुभूति गर्न सक्नुपर्छ ।”  

मन्त्री भण्डारीले मन्त्रालय तथा मातहतका कार्यालयमा सुशासन, पारदर्शीता र जवाफदेहितालाई प्राथमिकता दिइने बताउँदै अधुरा र निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिए। उनले विकास निर्माणका काममा ढिलासुस्ती, लापरबाही र अनियमितता सह्य नहुने स्पष्ट गर्दै जनताको करबाट उठेको स्रोतको सदुपयोग हुनुपर्नेमा जोड दिए।  

कार्यक्रममा मन्त्री भण्डारीले सुरक्षित खानेपानीले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै पानीजन्य रोग न्यूनीकरण गर्न गुणस्तर नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताए। उनले खानेपानी तथा सरसफाइका कार्यक्रमलाई स्थानीय तहसँग सहकार्य गरी अघि बढाइने जानकारी दिए।  

मन्त्रालयका सचिव रामआधार साह, सहसचिवलगायत कर्मचारीले मन्त्री भण्डारीलाई स्वागत गर्दै मन्त्रालयका चालु तथा आगामी कार्यक्रमबारे जानकारी गराए। उनीहरूले खानेपानी तथा सरसफाइ क्षेत्रमा भएका उपलब्धि, चुनौती र भावी योजनाबारे संक्षिप्त विवरण प्रस्तुत गरे। कार्यक्रममा मन्त्रालयका अधिकारी, कर्मचारी तथा सरोकार भएका निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित: ६ पुस २०८२ १६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App