राजनीति

विश्व बाल दिवसमा मन्त्री बादीको सन्देश : बालापनको रक्षा गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बालबालिकाको सुरक्षित, स्वस्थ, सम्मानित र खुसी बाल्यकाल सुनिश्चित गर्नु राज्य, परिवार र समाज सबैको साझा जिम्मेवारी भएको बताएकी छन्।

नोभेम्बर २० अर्थात् विश्व बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले बालबालिकाको अधिकार संरक्षण र प्रवर्द्धनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएकी हुन्।

‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै प्रत्येक बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

उनले बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा, दुर्व्यवहार, शोषण, विभेद र बालविवाह अन्त्य गर्नुपर्नेमा जोड दिएकी छन्।

त्यस्तै, शिक्षा, स्वास्थ्य, संरक्षण र विकासका अवसरमा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्न सबै एकजुट हुनुपर्ने सन्देशमा उल्लेख छ।

बालबालिकाको आवाज सुनिने, उनीहरूको अधिकारको सम्मान हुने र प्रत्येक बालबालिकाले आफ्ना सपना पूरा गर्ने अवसर पाउने बालमैत्री समाज निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्न पनि उनले आग्रह गरेकी छन्।

प्रकाशित: ४ मंसिर २०८३ ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App