राजनीति

फोहोर व्यवस्थापनलाई मेयर्स फोरमले अध्ययन गर्ने, सीमाविहीन समस्या समाधानमा सहकार्य गर्ने

साइकल लेन निर्माणका लागि गुरु योजना बनाउने

उपत्यका मेयर्स फोरमले काठमाडौं उपत्यकाबाट उत्पादन हुने फोहोरको वैज्ञानिक एवं दिगो व्यवस्थापन अध्ययन तथा समन्वय समिति गठन गर्ने भएको छ। 

बिहीबार बसेको उपत्यका मेयर्स फोरमको बैठकले सार्वजनिक यातायात सञ्चालनको दिगोपनाका लागि यसअघिका अध्ययन प्रतिवेदनहरुको तथ्य र सिफारिस विश्लेषण गरेर उपयुक्त ढाँचामा नेपाल सरकारसँग सहकार्य गर्ने सहमति गर्दै फोहोर व्यवस्थापनका लागि अध्ययन समिति बनाउने भएको हो। उक्त समितिले फोहोर व्यवस्थापनको विधि तथा प्रविधि अध्ययन गर्नुका अतिरिक्त सबै स्थानीय तहका बिचमा आवश्यकता अनुसार समन्वय, सहजीकरण र सामुहिक व्यवस्थापनका लागि आवश्यक काम गर्नेछ ।  

फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको फोरमको १३ औँ बैठकले, गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेन सम्बन्धी कानुन निर्माण गरी गुरु योजना बनाउने, पूर्वाधार निर्माण र सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ ।  

उपत्यकाको एकीकृत विकास गरी नागरिक जीवन सहजताका लागि सहकार्य र समन्वय गर्नु पर्ने आवश्यकता औल्याउँदै बैठकपछि फोरमका अध्यक्ष महर्जनले, मेट्रोको अवधारणा कार्यान्वयन संघ सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तहहरु तत्पर रहेको उल्लेख गर्दै मेट्रोको अवधारणा अनुसार पूर्वाधार निर्माण तथा सञ्चालन गर्न लाग्ने समयमा पनि सहज सार्वजनिक यातायातका साधन सञ्चालनमा आफूहरु तयार रहेको बताए।  

उपत्यकामा सार्वजनिक यातायात सञ्चालनका यस अघि गरिएको अध्ययन प्रतिवेदनको विश्लेषण र उपत्यका सुहाउँदो ढाँचाका विषयमा आगामी बैठकमा पेश गरिने फोरम अध्यक्ष महर्जनले जानकारी दिए ।  

बैठकमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल, वस्तीको मौलिकता, सांस्कृतिक तथा सामाजिक चालचलन सुहाउँदो ढाँचाको उपयुक्त माधयमको छनोट गरी पूर्वाधार निर्माण गर्न नेपाल सरकारसँग सहकार्य गर्नुपर्ने धारणा राखिन्। यसअघि सार्वजनिक यातायात प्रणालीका विषयमा धेरै अध्ययन भएका तीमध्ये कुन उपयुक्त छन् भन्ने कुराको ठोस निष्कर्षमा पुग्न विगतका अध्ययनहरुको पुनरावलोकन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।  

फोहर व्यवस्थापन, सार्वजनिक यातायात सञ्चालन, खानेपानी वितरण तथा नदी सभ्यताको संरक्षण, खाद्य स्वच्छता, विपद व्यवस्थापन, जलबायु परिवर्तनका असर कम गराउने सीमाविहिन समस्या हुन्, यी समस्या सुल्झाउन फोरमको उपयोग गर्न डंगोलको आग्रह थियो ।  

बैठक प्रारम्भ हुनुअघि काठमाडौँ महानगरपालिकाका तर्फबाट वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनमा विद्यमान अवस्था र दिगोपनाका लागि अवको आवश्यकता विषयमा प्रस्तुतिकरण दिएकी थिइन् । यसमा पनि ल्याण्डफिल साइट क्षेत्रको व्यवस्थापन र यसमा स्थानीय तहको जिम्मेवारीमा केन्द्रीत गरिएको थियो । ल्याण्डफिल साइटमा काठमाडौँसहित विभिन्न ६ वटा जिल्लाका २४ वटा पालिकाबाट फोहरको अन्तिम व्यवस्थापन कार्य गरिँदै आएको छ । ढुवानी नगरपालिका र निजी क्षेत्रबाट हुने गरेको छ भने साइट व्यवस्थापनको काम काठमाडौँ महानगरपालिकाले गर्ने गरेको छ ।

प्रकाशित: ७ फाल्गुन २०८२ २०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App