राजनीति

अग्रगामी मोर्चाको मधेश प्रदेश समिति गठन, भदौ १० भित्र जिल्ला समिति बनाउने निर्णय

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा ‘अग्रगामी मोर्चा’को मधेश प्रदेशस्तरीय बैठक जनकपुरधाममा सम्पन्न भएको छ। नौ राजनीतिक दल सहभागी बैठकले मोर्चाको प्रदेश समिति गठन, जिल्लास्तरीय समिति निर्माणको जिम्मेवारी बाँडफाँट तथा आगामी राजनीतिक कार्यक्रम तय गरेको छ।

बैठकले मोर्चामा आबद्ध दलहरूको प्रतिनिधित्व रहने गरी मधेश प्रदेश समन्वय समिति गठन गरेको छ। समितिमा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनमुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टीलगायत दलका प्रतिनिधि सहभागी छन्।

बैठकले आगामी भदौ १० गतेभित्र मधेशका आठवटै जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। त्यसका लागि विभिन्न जिल्लाको जिम्मेवारी मोर्चामा आबद्ध घटक दलहरूलाई बाँडफाँट गरिएको छ।

सप्तरीमा जनमत पार्टी, सिरहामा बहुजन एकता पार्टी, महोत्तरीमा नेपाल जनमुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी, सर्लाहीमा नागरिक उन्मुक्ति पार्टी तथा रौतहटमा आम जनता पार्टीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, बारामा जसपा नेपाल र आम जनता पार्टी, धनुषामा जसपा नेपाल तथा पर्सामा प्रगतिशील लोकतान्त्रिक पार्टीलाई जिल्ला समन्वय समिति गठनको जिम्मेवारी तोकिएको छ।

बैठकले हालै सिरहाका गणेश यादवको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको घटना तथा बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

मोर्चाले दुवै घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई तत्काल न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। साथै, घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न पनि माग गरिएको छ।

मोर्चाले संगठन विस्तार र जनपरिचालनलाई प्राथमिकता दिँदै दुईवटा क्षेत्रीय भेला आयोजना गर्ने निर्णय गरेको छ। पहिलो चरणमा आगामी भदौ २७ गते जनकपुरधाममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका प्रतिनिधि सहभागी हुने संयुक्त क्षेत्रीय भेला आयोजना गरिनेछ।

त्यस्तै, रौतहट, बारा र पर्सालाई समेटेर आगामी असोज ३ गते वीरगन्जमा बृहत् क्षेत्रीय भेला आयोजना गर्ने निर्णय भएको छ।

बैठकले आगामी दिनमा मोर्चाको संगठन विस्तारलाई तीव्रता दिँदै प्रदेश तथा जिल्लास्तरमा संयुक्त राजनीतिक गतिविधि अघि बढाउने रणनीति तय गरेको छ।

प्रकाशित: ५ भाद्र २०८३ १८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App