राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदलाई सामाजिक सद्भाव अभिवृद्धि, धार्मिक सहिष्णुताको प्रवर्द्धन तथा पछिल्लो असहज अवस्थालाई सामान्यीकरण गर्न समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
बिहीबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग भएको अनौपचारिक छलफलमा सभापति लामिछानेले पछिल्लो विकसित परिस्थितिप्रति पार्टी गम्भीर रहेको बताउँदै सांसदहरूलाई स्थानीय तह, प्रशासन, सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गर्दै शान्ति र सद्भाव कायम गर्न सक्रिय हुन आग्रह गरेका हुन्।
छलफलमा सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था तथा मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण परिस्थितिबारे समीक्षा गरिएको थियो। सहभागी सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको अवस्था, स्थानीय चासो र समाधानका सम्भावित उपायबारे सभापतिलाई जानकारी गराएका थिए।
रास्वपाले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षले संयम अपनाउनुपर्नेमा जोड दिएको छ। पार्टीले कुनै पनि प्रकारका अफवाह, घृणा फैलाउने अभिव्यक्ति तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिबाट टाढा रहन सबैसँग अपिल पनि गरेको छ।
छलफलमा सभापति लामिछानेले कोशी र मधेश प्रदेशका सांसदलाई आफ्नो क्षेत्रमा सक्रिय रहँदै संवाद, सहकार्य र समन्वयमार्फत शान्तिपूर्ण वातावरण निर्माण गर्न विशेष निर्देशन दिएका र परिस्थिति सामान्य बनाउन पार्टीका तर्फबाट आवश्यक सबै पहल जारी रहने बताएका छन्।
प्रकाशित: १४ श्रावण २०८३ १८:५८ बिहीबार



