राजनीति

चौतर्फी दबाबपछि राजीनामा दिने मुडमा कुलमान, हतार नगर्न निकटस्थको सुझाव

ऊर्जा मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन्। मंगलबार मन्त्रिपरिषद्को बैठकमै प्रधानमन्त्री सुशीला कार्कीले दलीय राजनीतिमा सक्रियता जनाएका मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी थिइन्। जसको सबैभन्दा ठुलो निसाना कुलमानमाथि नै थियो। 

पहिले संरक्षक बनेर आफ्नै अगुवाइमा उज्यालो नेपाल पार्टी खोलेका र त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वरिष्ठ उपाध्यक्ष बन्ने गरी सहमति गरेका कुलमान यी प्रक्रियामा लगभग अधिकांश समय दलीय राजनीतिमा संलग्न छन्। जसले नागरिक सरकारको दाबी गरिए पनि मन्त्रीहरू नै दलीय राजनीतिमा संलग्न रहेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री कार्कीले राजीनामा दिन सुझाएकी थिइन्। कुलमानबाहेक दलीय गतिविधिमा लागेका र चुनाव लड्ने मनसायमा रहेका सञ्चार मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई पनि राजीनामा दिन दबाब छ। यद्यपि मंगलबार नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै सञ्चार मन्त्री खरेलले प्रधानमन्त्रीबाट त्यस्तो दबाब नआएको दाबी गरेका छन्। 

सोही बिचमा मङ्गलवारै साँझ पत्रकार सम्मेलनमा कुलमानले आफू ‘अहिलेसम्म कुनै दलको सदस्य नभएको’ भन्दै राजीनामा नदिने आशय दिएका थिए। त्यो अभिव्यक्तिपछि सामाजिक सञ्जाल उनी विरुद्ध भड्किएको छ। 

प्रधानमन्त्रीदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत चौतर्फी आलोचना हुन थालेपछि कुलमान बुधवारै राजीनामा दिने मुडमा पुगेको स्रोतले बतायो। 

‘उहाँले आजै राजीनामा दिनुपर्ने भयो भनेर सुझाव मागिराख्नुभएको सत्य हो। तर, पार्टीभित्र अझैँ पर्याप्त छलफल गरेर निर्णय लिन हामीले सुझाव दिइरहेका छौँ,’ उज्यालो पार्टीका एक नेताले भने। 

कुलमान अझैसम्म पनि कुनै पार्टीको आधिकारिक सदस्यता नलिएको, रास्वपामा एकताको सहमति मात्रै भएको, आधिकारिक रूपमा समायोजन पनि भई नसकेको अवस्थामा राजीनामा किन दिने? भन्ने प्रश्न पनि पार्टीभित्र उठिरहेको ती नेताले बताए। 

‘रास्वपामा हाम्रो समायोजनको सूची नै गएको छैन। सूची गएपछि बरु राजीनामा दिँदा हुन्छ भन्ने कुराकानी चलिरहेको छ,’ उज्यालो स्रोतले भन्यो,‘तैपनि उहाँले के निर्णय लिनुहुन्छ, उहाँको कुरा पनि होला।’   

प्रकाशित: २३ पुस २०८२ १६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App