राजनीति

एउटा सिलिन्डर ग्याँस पाउन ठुलो युद्ध जित्नुपर्ने अवस्था सिर्जना भयो : कुलमान घिसिङ

'मूल्यवृद्धि र आपूर्ति अवरोधप्रति सरकार मौन रहनु आपत्तिजनक'

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिका कारण देश संकटमा रहेका बेला एलपी ग्यासको अभाव, कालोबजारी र मनपरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

घिसिङले सामाजिक सञ्जालमार्फत एउटा सिलिन्डर ग्यास पाउनसमेत उपभोक्ताले ठुलो संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै यस्तो संकटमा राज्य संयन्त्र आमनागरिकको पीडाप्रति संवेदनशील नहुनु दुःखद र आपत्तिजनक भएको बताएका हुन्।

उनले विद्यमान एलपी ग्यास विनियमावली, २०६५ को विनियम २०(ग) ले समय–समयमा ग्यासको मूल्य समायोजन गर्ने अधिकार नेपाल आयल निगमलाई दिएको उल्लेख गर्दै त्यसविपरीत व्यवसायीले ढुवानी खर्च बढेको भन्दै आफूखुसी मूल्य बढाउनु गम्भीर विषय भएको बताए।

प्राकृतिक विपत्तिका कारण नागरिक संकटमा परेका बेला गरिएको मूल्यवृद्धि र आपूर्ति अवरोधप्रति सरकार मौन रहनु झन् आपत्तिजनक भएको घिसिङको भनाइ छ।

'एउटा सिलिन्डर ग्याँस पाउनसमेत ठूलो युद्ध जित्नुपर्ने अवस्था सिर्जना भएको छ। यस्तो संकटका बेला समेत आमउपभोक्ताको पीडाप्रति राज्य संयन्त्र संवेदनशील नहुनु अत्यन्त दुःखद र आपत्तिजनक छ,' उनले भने।

उनले खाना पकाउनेलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर विद्युत् प्रयोगलाई निरुत्साहित गर्ने नीति विरोधाभासपूर्ण रहेको बताएका छन्। ‘एकातर्फ ग्यास छैन, अर्कोतर्फ विद्युत् प्रयोग महँगो बनाइएको छ,’ घिसिङले भने।

घिसिङले नेपाल आयल निगमसँग अहिलेसम्म आफ्नै एलपी ग्यास बोट्लिङ प्लान्ट नहुनु दुःखद र दुर्भाग्यपूर्ण अवस्था भएको बताएका छन्। आयातित एलपी ग्यासमाथिको परनिर्भरता क्रमशः अन्त्य गर्दै नेपालमै उत्पादित स्वच्छ तथा भरपर्दो विद्युतीय ऊर्जाको अधिकतम उपयोग गर्नुपर्ने उनको धारणा छ।

उनले विद्युतीय चुल्होको प्रयोगलाई व्यापक र व्यवस्थित रूपमा प्रवर्द्धन गर्दै एलपी ग्यासको विकल्पका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

घिसिङले सरकारसँग कालोबजारी, कृत्रिम अभाव र मनपरी मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न, स्वीकृतिबिना गरिएको मूल्यवृद्धि फिर्ता लिन, देशभर ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र संकटका बेला उपभोक्तामाथि थप आर्थिक भार नथोपर्न माग गरेका छन्।

त्यस्तै, खाना पकाउनेलगायत घरायसी प्रयोजनमा विद्युत् प्रयोगलाई प्रोत्साहन गर्न विद्युत् खपतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन पनि उनले माग गरेका छन्।

यस्तो छ उनको माग:

१. सरकारी संयन्त्रलाई तत्काल प्रभावकारी रूपमा परिचालन गरी एलपी ग्याँसमा भइरहेको कालोबजारी, कृत्रिम अभाव र मनपरी मूल्यवृद्धि नियन्त्रण गरियोस्।

२. अधिकारप्राप्त निकायको स्वीकृतिबिना गरिएको ग्याँसको मूल्यवृद्धि तत्काल फिर्ता गरियोस्।

३. देशभर एलपी ग्याँसको नियमित र सहज आपूर्ति सुनिश्चित गरियोस्।

४. संकटको समयमा उपभोक्तामाथि थप आर्थिक भार थोपर्ने कार्य तत्काल रोकियोस्।

५. खाना पकाउनेलगायत घरायसी प्रयोजनमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत् खपतमा लगाइएको भ्याट तत्काल फिर्ता लिइयोस्।

प्रकाशित: २४ भाद्र २०८३ १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App