राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा सचेतक क्रान्तिशिखा धितालले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
उम्मेदवारी घोषणासँगै धितालले पार्टीको नीति, सिद्धान्त र कार्यकर्ताको भावनालाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्दै आएको बताएकी छन्। उनले देशका विभिन्न क्षेत्रमा संगठन निर्माण, राजनीतिक प्रशिक्षण तथा आगामी आम निर्वाचन २०८२ का लागि वाचापत्र लेखन समितिमा रहेर नीतिगत योगदान दिएको बताएकी छिन्।
धितालले प्रतिनिधिसभा सदस्यका रूपमा शिक्षा, स्वास्थ्य र मनोसामाजिक मुद्दामा निरन्तर पैरवी गर्दै आउनुको साथै पार्टीले दिएको जिम्मेवारी विधिको शासन र पार्टीको मूल मर्मअनुसार निर्वाह गरेको दाबी गरेकी छन्।
उनले संघीय संसद्मा काम गर्दाका अनुभवलाई संगठन सुदृढीकरण, नीति कार्यान्वयनमा देखिएका चुनौती समाधान र कार्यकर्ताको आवाज केन्द्रीय समितिसम्म पुर्याउन उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
रास्वपाको प्रथम महाधिवेशनमार्फत सक्षम र जनमुखी नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै धितालले केन्द्रीय सदस्य पदका लागि आफूलाई मत दिन महाधिवेशन प्रतिनिधिसँग अपिल गरेकी छन्।
प्रकाशित: १० असार २०८३ १५:५१ बुधबार



