राजनीति

केपी ओलीको गुनासो: भदौ २४ गते राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले के गर्न सक्छ ?

स्थानीय तह र प्रदेशको निर्वाचन मंसिरमा एकसाथ गर्न सुझाव

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राज्य संयन्त्रले आफूलाई साथ नदिएको गुनासो गरेका छन् ।  

बिहीबार काठमाडौंमा सञ्चारगृहका प्रतिनिधिसँगको छलफलमा ओलीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राज्य संयन्त्रले साथ नदिएको बताएका हुन् । भदौ २३ गते जेनजी आन्दोलनका क्रममा युवाको ज्यान गएपछि भोलिपल्ट संसद् भवन, सिंहदरबारलगायतका सरकारी संरचनामा आगजनी भएको थियो ।

‘भदौ २४ गते राज्य संयन्त्रले साथ दिएन,’ तत्कालीन प्रधानमन्त्री ओलीले भने, ‘राज्य संयन्त्रले साथ नदिएपछि प्राइममिनिस्टरले के गर्छ ?’

आन्दोलनपछि गठन भएको सरकारका लागि आफूले कुनै सिफारिस नगरेको पनि उनले स्पष्ट पारे । आफ्नो सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको र संसद् विघटन गरिएको भन्ने प्रचार झुटो भएको उनको भनाइ थियो ।

ओलीले त्यतिबेला आफूले संविधानभित्रैबाट समाधान खोज्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको बताए । ‘मैले संविधान मिच्नु हुँदैन भनेर राष्ट्रपतिलाई भनेको छु । संविधानभित्रबाट समाधान खोज्न भनेको हुँ,’ उनले भने ।

उनका अनुसार राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोक सिग्देलले संविधानको धारा खुलाइदिन आग्रह गरेका थिए । ‘राष्ट्रपति र सेनापतिले संविधानको धारा खुलाइदिनुस् भन्नुभयो, भए पो धारा लेख्नु,’ ओलीले भने ।

ओलीले आगामी निर्वाचनको समयतालिकाबारे पनि धारणा राखे । उनका अनुसार स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा हुनुपर्छ । दुवै निर्वाचन एकैपटक गर्ने हो भने मंसिरमै गर्न सकिने उनको भनाइ छ ।

‘वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्छ,’ उनले भने, ‘यदि एकैपटक गर्ने भए दुवै चुनाव मंसिरमा गरौँ ।’

आगामी निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै ओलीले अघिल्लो निर्वाचनजस्तो अवस्था दोहोरिन नहुने बताए । उनले सरकारसँग झन्डै दुईतिहाइ बहुमत रहेको भन्दैमा मनपरी गर्न नमिल्ने टिप्पणी गरे ।

संसद्लाई छलेर अध्यादेश ल्याउने कार्य उचित नभएको उनको भनाइ थियो । ‘यो सरकार दुईतिहाइको होइन, यो पनि बहुमतको सरकार हो । झन्डै दुईतिहाइ भन्नु र दुईतिहाइ भन्नु उस्तै होइन,’ ओलीले भने, ‘दुईतिहाइ छ भनेर जे पायो त्यही गर्न पाइँदैन । संसद् छल्ने, अध्यादेश ल्याउने होइन ।’

प्रकाशित: १० मंसिर २०८३ १८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App