राजनीति

सत्ता साझेदार दलको सहमतिविपरीत मन्त्री पराजुलीले भने- कोशीको बजेट पुनरावलोकन हुँदैन

सत्ता साझेदार दलहरूबीच सहमति भए पनि कोशी प्रदेशको चालु आर्थिक वर्षको बजेट पुनरावलोकन नहुने भएको छ। प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणी पराजुलीले बजेट कार्यान्वयनमा गइसकेकाले अब पुनरावलोकन सम्भव नरहेको बताएका हुन्।

बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले बजेट संशोधनको सम्भावनालाई नरहेको सुनाए। प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबीच संयुक्त सरकार गठन हुँदा बजेट पुनरावलोकन गर्ने सहमति भएको थियो।

मन्त्री पराजुलीले भने, ‘कार्यान्वयनमा गइसकेको बजेट अब कुनै हालतमा पुनरावलोकन हुँदैन। बिना शीर्षक राखिएको १ अर्ब रुपैयाँ बजेटबाट मात्रै नयाँ कार्यक्रमहरू सञ्चालन गर्न सकिने अवस्था छ।’

बजेट परिमार्जन नहुने भए पनि प्रदेशका अस्पतालहरूमा गुणस्तरीय सेवा विस्तार गर्न सरकार निरन्तर क्रियाशील रहेको उनले दाबी गरे। यसै सन्दर्भमा प्रदेशका १६ वटै जिल्ला अस्पतालका सञ्चालक समिति अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टहरूसँग आवश्यक छलफल भइसकेको उनले जानकारी दिए।

मन्त्री पराजुलीका अनुसार प्रदेश सरकारले सबै जिल्ला अस्पतालहरूलाई विशेषज्ञ सेवासहित ५० शय्यामा स्तरोन्नति गर्ने योजना बनाएको छ। त्यस्तै पाँचथर, संखुवासभा, उदयपुर र मदन भण्डारी ट्रमा सेन्टरलाई नमुना अस्पतालका रूपमा विकास गरिनेछ।

यसैगरी, धनकुटा अस्पताललाई १०० शय्यामा विस्तार गरी शिक्षण अस्पताल र भद्रपुरस्थित प्रादेशिक अस्पताललाई २०० शय्यामा स्तरोन्नति गरेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना रहेको उनले बताए।

स्थानीय तह तथा संघीय अस्पतालहरूसँगको सहकार्यमा घुम्ती अस्पताल सञ्चालन गरिने र विराटनगरस्थित शैलजा आचार्य अस्पतालको जग्गा प्राप्ति प्रक्रिया टुंग्याएर पूर्वाधार निर्माणसहित २४ सै घण्टा सेवा सञ्चालनको काम भइरहेको मन्त्री पराजुलीले बताए।

प्रकाशित: ७ आश्विन २०८३ १८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App