पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारसँग म्याद थप गरिदिन माग गरेको छ। भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंसका घटनाबारे छानबिन गर्न बनेको आयोगको तीन महिना पूरा हुँदै गर्दा सबै काम नसकिएको भन्दै सरकारसँग थप समय मागेको हो।
गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको जाँचबुझ आयोग बनाएको थियो। आयोगलाई तीन महिनाको समय दिइएको थियो।
आयोगको म्याद सकिँदै गर्दा बुधबार अध्यक्ष कार्कीसहितका तीनै जना सदस्यले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका थिए। भेटमा आयोगलाई समय अपर्याप्त हुने भन्दै थप एक महिनाको समय मागेको अध्यक्ष कार्कीले बताए।
‘आयोगले गर्नुपर्ने सबै काम सकिएको छैन भनेर प्रधानमन्त्री ज्यूसँग छलफल गर्न आएका हौँ,’ बैठकपछि पत्रकारसँग कुराकानी गर्दै कार्कीले भने, ‘एक महिना थप गर्न भनेका छौँ। समय पुगेको छैन।’
बिदा र समयमा प्रहरीले सहयोग नगरेकाले आयोगले निर्धारित समयमै काम पूरा गर्न नसकेको उनले दाबी गरे। उनले भने, ‘दुई हप्ता बिदा नै भयो। प्रहरीले एक महिनासम्म लिस्ट पठाएन। त्यस कारण काम गर्न ढिला भयो।’
यस्तै आयोगका अध्यक्ष कार्कीले अर्को साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने पनि जानकारी दिए। हालसम्म सुरक्षा निकाय तथा तत्कालीन गृह प्रशासनका प्रमुखसँग बयान लिइसकेको बताउँदै उनले अब त्यो बेला सत्तामा रहेका राजनीतिक दलका नेताहरूसँग बयान लिने तयारीमा आफूहरू रहेको पनि बताए। ओली र लेखकको बयानपछि आफूहरू प्रतिवेदन लेखनमा केन्द्रित हुने पनि कार्कीले बताए।
प्रकाशित: २ पुस २०८२ २०:०७ बुधबार