जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले चाडपर्व सकिएलगत्तै मुलुकमा सरकारको विरोधमा आन्दोलन हुने बताएका छन्। बस्नेतले मुख्यतः सरकारको कार्यशैली, सुशासन, सामाजिक न्याय र जनजीविकाका सवाललाई लिएर अग्रगामी मोर्चा र अन्य दलहरू आन्दोलनमा जान लागेको बताएका हुन्।
बस्नेतले भने, ‘आन्दोलनलाई राजनीतिक दलहरुको सत्ता संघर्ष, गुमेको राजनीतिक प्रभाव फर्काउने दाउ र आफ्नो अस्तित्व जोगाउने रणनीति हो भन्दै सरकारको बचाउ गर्ने प्रयास गरिएला तर जनताका बास्तविक समस्या र असन्तुष्टि भएकोले नै आन्दोलन हुन लागेको हो।’
संघीयताको कार्यान्वयन, प्रदेशको अधिकार, प्रशासनिक संरचना, वित्तीय स्रोत र आवश्यक कानुन कार्यान्वनमा समस्या रहेको प्रदेश सरकारहरुको असन्तुष्टि र गुनासोले पनि उक्त आन्दोलनलाई सशक्त बनाउन थप टेवा पुर्याउने उनको भनाइ छ।
लोकतन्त्रमा सरकारको शक्ति प्रहरी, प्रशासन वा सत्ताको अंकगणितमा होइन, जनताको विश्वासमा हुने भन्दै बस्नेतले सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताए।
सरकारको रणनीति आन्दोलन दबाउने हैन, आन्दोलन गर्नुपर्ने परिस्थिति नै आउन नदिने हुनुपर्ने उनको धारणा छ।
प्रकाशित: २६ कार्तिक २०८३ ११:३० बिहीबार



