राजनीति

जसपाले चार प्रदेशसभा सदस्यसहित २१ जनालाई पार्टीबाट निकाल्यो

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी नीति, सिद्धान्त, विधान तथा निर्णयविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यसहित २१ जना जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

ललितपुरको बालकुमारीमा भदौ १६ देखि १८ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचन २०८२ का क्रममा पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत कार्य गरेको र लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्दै सरकारमा समेत सहभागी भएको भन्दै रुपन्देही–३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फकी हेमा वेल्वासे (केसी), बाँके–२ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके–२ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाललाई कारबाही गरिएको हो ।

त्यस्तै, पार्टीको निर्णयविपरीत गतिविधि गरेको भन्दै सिरहा, पर्सा, खोटाङ, भोजपुर, उदयपुर, इलाम र सुनसरीका स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यसहित अन्यलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय बैठकले गरेको छ ।

बाढीपीडितका लागि २१ लाख

बैठकले भदौ १० गते रसुवागढीको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका देश तथा विदेशका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

जसपाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत, उद्धार तथा बाढीपीडितको व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारसँग माग गरेको छ । राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले ‘नेपालको वर्तमान राजनीतिक अवस्था र जसपा, नेपालको रणनीतिक दिशा’ शीर्षकको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

यस्तै, जसपाको केन्द्रीय समितिको बैठक आगामी असोज १३, १४ र १५ गते काठमाडौंमा आयोजना गर्ने निर्णय भएको छ ।

अग्रगामी मोर्चालाई समर्थन

जसपाले अग्रगामी मोर्चाको गठनलाई सर्वसम्मतिले स्वागत तथा समर्थन गरेको छ । मोर्चाले घोषणा गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टीका सम्पूर्ण पङ्क्तिले सक्रिय सहभागिता जनाउने निर्णय पनि बैठकले गरेको छ ।

संगठन सुदृढीकरण तथा कार्यकर्ता अभिमुखीकरणका लागि पश्चिम नवलपरासीमा भदौ २१, रुपन्देहीमा भदौ २२ तथा कपिलवस्तु र दाङमा भदौ २३ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गर्ने निर्णयसमेत गरिएको महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १९ भाद्र २०८३ १९:१२ शुक्रबार