उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै ४२ करोड रुपैयाँभन्दा बढी भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ।
मन्त्री यादवले लामो समयदेखि भाडा तिर्न आनाकानी गरिरहेका उद्योग तथा कार्यालयहरूबाट तत्काल बक्यौता उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी थिइन्। सोही निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम संकलन भएको लिमिटेडले जनाएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि।सं। २०४५ सालदेखि नै केही उद्योगहरूले भाडा तिर्न बाँकी राखेका थिए। केही दिनअघि करिब ६ सय ३५ उद्योग तथा कार्यालयलाई भाडा बुझाउन सार्वजनिक सूचना जारी गरिएको थियो। त्यसपछि अधिकांश उद्योगहरूले धमाधम बक्यौता चुक्ता गरेका छन्।
बाँकी उद्योगको बिजुली काटियो
मन्त्री यादवले तोकिएको समयभित्र भाडा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत् लाइन काट्न निर्देशन दिएसँगै लिमिटेडले कडा कदम चालेको छ।
सुरुआतमै झन्डै २ सयभन्दा बढी उद्योगको विद्युत् लाइन काटिएको थियो। ती उद्योगहरूले बक्यौता तिरेपछि पुनः लाइन जोडिएको छ। अझै भाडा तिर्न बाँकी रहेका ४५ वटा कम्पनीको विद्युत् लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए। मन्त्री यादवले ती उद्योगहरूको सम्पूर्ण बक्यौता चुक्ता नभएसम्म लाइन पुनः नजोड्न स्पष्ट निर्देशन दिएको लिमिटेडले जनाएको छ।
बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रा।लि। को करिब ३ करोड ६९ लाख रुपैयाँ तथा सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रा।लि। को करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी रहेको छ। हाल यी दुवै उद्योगको विद्युत् लाइन काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ।
भाडा असुलीमा आनाकानीदेखि बाह्य दबाबसम्मका चुनौती भए पनि मन्त्री गौरिकुमारी यादवको स्पष्ट निर्देशनका कारण छोटो समयमै उल्लेख्य बक्यौता उठाउन सफल भएको महाप्रबन्धक ओलीले बताए।
प्रकाशित: १६ असार २०८३ १२:३३ मंगलबार



