राजनीति

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट

सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्।

भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकामा श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे।

उनले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताए।

सभामुख अर्यालले पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी विपद्का क्रममा भारत सरकारले पहिलो उद्धारकर्ता तथा विश्वसनीय छिमेकीका रूपमा उपलब्ध गराएको सहयोगप्रति विशेष आभार व्यक्त गरे।

भारतीय वायुसेनाका विमानमार्फत राहत तथा उद्धार सामग्री नेपाल ल्याइनुका साथै सुरुङ उद्धारका लागि विशेषज्ञ टोली तथा फरेन्सिक विज्ञसहितको प्राविधिक सहयोग उपलब्ध गराइएको उल्लेख गर्दै उनले विपद्को कठिन समयमा प्राप्त यस सहयोगले नेपाल र भारतबीच विद्यमान मैत्री, सद्भाव, ऐक्यबद्धता र सहकार्यको गहिरो सम्बन्धलाई थप प्रतिबिम्बित गरेको बताए।

भेटमा नयाँ प्रतिनिधि सभाको गठनपछि गठन भएको नेपाल–भारत संसदीय मैत्री समूह तथा यसमार्फत अघि बढाउन सकिने अन्तर–संसदीय सहकार्यका विषयमा पनि छलफल भएको थियो।

सभामुख अर्यालले संसदीय कूटनीतिले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यसबाट दुवै देशका सांसदहरूबीच आपसी समझदारी, अनुभव आदानप्रदान र सहकार्य विस्तार गर्न सहयोग पुग्ने बताए।

सभामुख अर्यालले भारतीय संसदलाई लोकतन्त्रको सुदृढ संस्थाका रूपमा नेपालले उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यास, संसदीय अनुभव तथा असल अभ्यासहरूको आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

सो अवसरमा राजदूत श्रीवास्तवले रसुवामा भएको क्षति अकल्पनीय रहेको बताउँदै भारतले राहत तथा उद्धार कार्यमा निरन्तर सहयोग गरिरहेको जानकारी गराए। संकटको घडीमा भारत सधैं नेपालको साथमा रहने उनले प्रतिबद्धता व्यक्त गरे।

सभामुख अर्यालले श्रीवास्तवको आगामी जिम्मेवारी तथा व्यक्तिगत जीवनको सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्दै नेपालमा रहँदाको कार्यकालका लागि धन्यवाद व्यक्त गरे।

प्रकाशित: ५ आश्विन २०८३ १४:५५ सोमबार