नेकपा (एमाले) का नेता महेश बस्नेतले पपुलारिज्म अर्थात् भावनामा आधारित लोकप्रियताको लहर छोटो समयमै ठूलो जनसमर्थन जुटाउने माध्यम भए पनि यसको दीर्घकालीन परिणाम गम्भीर हुने बताएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको राजनीतिक यात्रा यसको स्पष्ट उदाहरणका रूपमा देखिएको उनको भनाइ छ।
बस्नेतले सामाजिक सञ्जालमा लेख्दै यस्तो विश्लेषण गरेका हुन्। उनले लेखेका छन्, 'हास्यकलाकार र टेलिभिजन नायकको भूमिकाबाट चर्चित बनेका जेलेन्स्की एकाएक राजनीतिक नेतृत्वसम्म पुगे। भ्रष्टाचारविरोधी नारा र लोकप्रिय छविका आधारमा सत्तामा पुगेका उनले प्रारम्भिक दिनमा जनताबाट ठूलो समर्थन पाए। तर अनुभव र रणनीतिक क्षमताको अभावमा मुलुकलाई संकटबाट जोगाउन नसकेको आरोप उनीमाथि लागेको छ।'
युक्रेन आज रसियासँगको युद्धमा ध्वस्त भएको र देशको झण्डै २० प्रतिशत भूभाग गुमिसकेको जिकिर गर्दै नेता बस्नेतले खर्बौं डलर बराबरको भौतिक क्षति भएको र लाखौं नागरिक र सैनिकको ज्यान गइसकेको बताए। युद्धले मुलुकको अर्थतन्त्र धरासायी भएको र युक्रेन कंगाल अवस्थामा पुगेको तथ्य विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनमा उल्लेख गरिएको उनले लेखेका छन्।
'पपुलारिज्म क्षणिक रूपमा आकर्षक देखिए पनि यसको दीर्घकालीन परिणाम विनाशकारी हुन्छ,' उनले भने, 'युक्रेनको वर्तमान स्थिति त्यसकै परिणाम हो।'
नेपालका लागि पनि यस घटनाक्रमलाई चेतावनीका रूपमा लिनुपर्ने उनले सुझाव दिएका छन्। 'हामीले भावनामा बगेर मात्र लोकप्रिय नेताको रोजाइ गर्नुभन्दा अनुभव, नीति र दूरदृष्टि भएका सक्षम नेतृत्वलाई प्राथमिकता दिनु जरुरी छ, उनले लेखेका छन्।
यस्तै युक्रेनको कथा केवल त्यहाँको मात्र नभइ पपुलारिज्मले ल्याउन सक्ने जोखिमबारे विश्वका अन्य मुलुकका लागि पनि चेतावनी समेत भएको बस्नेतको भनाइ छ। नेपालले समयमै यसबाट पाठ सिकेन भने उस्तै संकट यहाँ पनि दोहोरिन सक्ने खतरा उनले औंल्याएका छन्।
प्रकाशित: ४ भाद्र २०८२ ०८:२० बुधबार