नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताका लागि भेटघाट बढाएका छन्।
करिब ५ महिना लामो विदेशमा स्वास्थ्य उपचार पछि स्वदेश फर्केका देउवाले सभापति गगन थापासँग भेट गर्ने बताएका छन्। डडेलधुराका कांग्रेस पूर्वसभापति कर्ण मल्लसँगको भेटमा देउवाले सबैलाई मिलाएर पार्टी एकता गरिने बताएका हुन्।
देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका मल्ल आइतबार देउवालाई भेट्न गएका थिए। भेटघाटका क्रममा पूर्वसभापति देउवाले सबै मिलाएर पार्टी एकताबद्ध गर्न छलफल सुरु गरिएको बताएका मल्लले जानकारी दिए।
‘बोलाएर भेटघाट र छलफल गरिरहेको छु। गगन थापालाई पनि भेट्न खबर पठाएको छु, पार्टी एकताको लागि भेटेर छलफल गर्छु’, देउवाको भनाई उद्धृत गर्दै मल्लले भने।
अभिभावकीय जिम्मेवारीमा रहेर पार्टीलाई १५ औँ महाधिवेशनतिर लान उपयुक्त हुने विषय आफूले उठाएको उनले बताए। सबैलाई मिलाएर पार्टीको १५औँ महाधिवेशन गर्ने कुरामा देउवा सकारात्मक रहेको उनले बताए।
मल्ल डडेलधुराबाट दुई पटक जिल्ला सभापति बनेका थिए।
प्रकाशित: ७ भाद्र २०८३ १६:४८ आइतबार
-600x400.jpg)


