बाढीपहिरोपछिको खोज, उद्धार तथा राहत कार्यमा सांसदहरू समेत प्रत्यक्ष खटिनुपर्ने आवश्यकता देखिएको भन्दै प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालका लागि स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठक आगामी भदौ ११ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका थिए। तर, लगत्तै संघीय संसद् सचिवालयले विशेष सूचना जारी गर्दै देशको विपद्पूर्ण परिस्थितिलाई मध्यनजर गरी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको हो।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा बाढीपहिरोबाट उत्पन्न संकटग्रस्त परिस्थितिमा सरकारका साथसाथै माननीय सांसदहरू समेत राहत तथा उद्धार कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको उल्लेख छ। अब सचिवालयले अर्को सूचना प्रकाशित गरेपछि मात्र बैठक बस्नेछ।
प्रकाशित: १० भाद्र २०८३ १८:०३ बुधबार