लामो समयदेखि न्यायको ढोका ढकढकाउँदै सडक संघर्षमा होमिएका सुजन बिकको परिवारले अन्ततः सिंहदरबारभित्रै गृहमन्त्री सुधन गुरुङलाई भेटेर आफ्नो माग राखेको छ। विगत तीन महिनादेखि आफ्नी दिवंगत श्रीमतीको न्यायका लागि काठमाडौंका सडकमा धर्ना दिँदै आएका चितवन रत्ननगर नगरपालिकाका सुजनलाई गृहमन्त्री गुरुङले मन्त्रालयमै बोलाएर भेटेका हुन्।
आफ्नो काखमा नवजात शिशु (बच्चा) च्यापेर न्यायको याचना गर्दै सुजन गृहमन्त्रीको कार्यकक्षमा पुगेका थिए। सो क्रममा उनले श्रीमतीको अकाल मृत्यु अस्पतालको गम्भीर लापरबाहीका कारण भएको भन्दै आँसु बगाए। सुत्केरी अवस्थामा अस्पतालले उचित हेरचाह र उपचार नगर्दा गृहणी गुमाउनुपरेको र नवजात शिशुको भविष्य संकटमा परेको भन्दै उनले सरकारसँग भावुक गुहार मागेका थिए।
पीडित सुजन र उनको बच्चाको कारुणिक अवस्था देखेपछि गृहमन्त्री गुरुङ भावुक बनेका थिए। परिवारको सम्पूर्ण पीडा र गुनासो ध्यानपूर्वक सुनिसकेपछि गृहमन्त्री गुरुङले तत्कालै एक्सन लिएका छन्। 'राज्य नागरिकको अभिभावक हो। अस्पतालको लापरबाहीका कारण कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउनु अत्यन्तै दुखद छ। यो घटनाको गहिराइमा पुगेर छानबिन गरिनेछ र दोषीलाई कडा भन्दा कडा कारबाही हुनेछ,' गुरुङले भने।
गृहमन्त्री गुरुङले मन्त्रालयका अधिकारीहरूलाई तत्कालै एक छानबिन समिति गठन गर्न र उक्त घटनाको सत्यतथ्य विवरण यथाशीघ्र बाहिर ल्याउन निर्देशन दिएका छन्। छानबिनको प्रतिवेदनका आधारमा दोषी देखिएका जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता उनले व्यक्त गरे।
प्रकाशित: २९ जेष्ठ २०८३ ०७:५८ शुक्रबार



